रुपन्देहीको ओमसतीयाका २४ जनालाई जग्गाधनी पुर्जा

रुपन्देहीको ओमसतीया गाउँपालिका-२ करबलाका २४ घरधुरीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।

लामो समयदेखि भूमि नपाएका उक्त गाउँका २४ जनालाई बुधबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लालपुर्जा वितरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले यस पटक छुटेका अन्य भूमिहीनलाई समेत छिट्टै लालपुर्जा वितरणको लागि पहल गरिने बताए। उनले जिल्लामा रहेका अन्य भूमिहीनलाई भूमि लाउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न कांग्रेसले पहिलो प्राथमिकता दिएको बताए। 

रुपन्देहीमा अहिले भूमिहीनको विवरण सकंलन र जग्गा नापजाँच भइरहेको भन्दै छिट्टै सबै भूमिहीनलाई भूमिको व्यवस्थापन गरिने उनले बताए। जिल्लामा राष्ट्रिय भूमि आयोग रुपन्देहीले जग्गा नापजाँच गरिरहेको छ।

त्यस्तै नेता खाणले जन्मसिद्ध नागरिकतामा देखिएको समस्या समाधानका लागिसमेत पहल गर्ने बताए। उक्त वडाका वडाध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको संघर्षपछि भूमिहीनलाई भूमि दिलाउन सफल भएको बताए।

प्रकाशित मिति: : 2022-03-30 19:06:00

प्रतिकृया दिनुहोस्