कोरोना महामारीपछि बालबालिकाहरूले अनेकौं समस्या भोगिरहेका छन्। उनीहरू तनावसँग तीव्र रूपमा लडिरहेका छन्।
युनिभर्सिटी अफ मिशिगनका अनुसार कम्तीमा २५ प्रतिशत बालबालिकाहरूको मानसिक अवस्था सामान्य छैन। उनीहरू स्कुल जानै मान्दैनन्। अनलाइन सिकाइले बालबालिकामा नकारात्मक असर पारेको छ।
महामारीअघि रमाउँदै–रमाउँदै स्कुल पुग्ने बालबालिकाहरू महिनौंसम्म घरमै थलिनुपर्यो। उनीहरू स्कुलको पहुँचबाट टाढा रहे। झण्डै साथीभाई र शिक्षक–शिक्षिका बिर्सिन पुगे।
यस्तै–यस्तै कारणले लाखौं बालबालिकाहरू फेरि स्कुल खुलेपनि विद्यालय जान डराउँछन्। सकेसम्म घरमै बस्न रूचाउँछन्। उनीहरू स्कुलमा फरक किसिमको असुरक्षा महसुस गर्छन्।
लामो समयसम्म मोबाइल खेलाउँदा बालबालिकाहरूको निद्रामा असर परेको छ। जसका कारण उनीहरू आफैंले नयाँ चुनौतीको सामना गर्नुपरेको छ।
सम्भवतः देशभर स्कुल खुलिसकेका छन्। अब छोराछोरीहरूलाई पढ्न पठाउनु नै पर्छ। तर स्कुल पढाउनुअघि मानसिक स्वास्थ्य चेकजाँच गरौँ।उनीहरूलाई अध्ययनमा प्रत्यक्ष दबाब दिनुअघि तनावमुक्त बनाउनु पर्ने मनोचिकित्सकहरू सुझाउँछन्।
बालबालिकाहरूलाई यतिबेला मानसिक सहयोग चाहिन्छ। उनीहरूसँगै हिँडौं, खेलौं। एकछिन मात्रै भएपनि स्कुलसम्मै पुगौं। बालबालिकाहरूको दृष्टिकोण बुझ्न जरुरी छ।
सुन्ने प्रयास गरौं– महामारीपछि उनीहरू स–साना कुराले चिन्तित देखिन्छन्। जसले डिप्रेसनमा पुर्याइरहेको छ। यस्तो अवस्थामा हामी उनीहरूप्रति अलिकति नरम स्वभाव प्रर्कट गरौं।
समस्याको बीचमा के गर्ने भन्ने पनि ठूलो प्रश्न छ। स्कुलले पनि शिक्षण पद्धतिमा पुनर्विचार गर्नुपर्छ। शिक्षा प्रणालीलाई नयाँ बनाउनुपर्छ।
बालबालिकालाई मानसिक रूपमा बलियो बनाउन उनीहरूसँगै उभिनुपर्छ। कलिला बालबालिकाहरूलाई खुसी पार्ने जिम्मेवारी अभिभावक र स्कुलकाे हो। उनीहरूसँग समय बिताउन सक्दो प्रयास गरौं।
अर्कोतर्फ सरकारी संयन्त्रले पनि संवेदनशील विषयमा हस्तक्षेप गर्नुपर्छ। बालबालिका तथा किशोरकिशोरीहरूको समस्या बुझेर अनिवार्य रुपमा पालना गर्नुपर्ने शिक्षण संस्थाका लागि निर्देशिका तयार गर्नुपर्छ। बालबालिका र किशोरकिशोरीको पीडा सबैले बुझे परिणाम सकारात्मक देखिनेछ।