महाकाली नदीमा ढुंगा निकाल्दै नेपाली क्षेत्रमा पुगेको भारतीय जेसिबिको चाबी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।आइतबार दिउँसो दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ कलोन क्षेत्रमा महाकाली नदीमा ढुंगा निकाल्दै, धार परिवर्तन गर्दै भारतीय जेसिबि नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरीले जेसिबिको चाबी नियन्त्रणमा लिएको हो।
कलोन क्षेत्रमा भारतीय जेसिबि नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाबाट गस्तीमा गएको टोलीले जेसिबिको चाबी नियन्त्रणमा लिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
नेपाली क्षेत्रमा प्रवेश गर्नका लागि भारतले कुनै अनुमति नलिएको उनको भनाई छ। नेपाली क्षेत्रको बाटो प्रयोग गरेर माथिल्लो क्षेत्र गइरहेको जस्तो देखियो। तर हाम्रो बाटो प्रयोग गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ,ु प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने।
चाबी नियन्त्रणमा लिएको भए पनि भारतीय जेसिबि फिर्ता भएको छ। दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी देखि कलोन क्षेत्रसम्म महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ। महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण भइरहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन्।
भारतले हाल आफ्नो पुरानो तटबन्धभन्दा करिब १० मिटर वर नयाँ तटबन्ध निर्माण गरिरहेको छ। महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरी काम भइहरेको भन्दै दार्चुलाबाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले भारतीय तटबन्ध निर्माणको काम रोकिनुपर्ने बताएका छन्।
भारतले निर्माण गरिरहेको तटबन्धको सन्दर्भमा हालै नेपाली स्थानीय प्रशासन र भारतीय स्थानीय प्रशासनबीच छलफल भएको छ। आफूले निर्माण गरिरहेको तटबन्धको डिजायन तथा संरचना बारे भारतले नेपाली पक्षलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।
भारतीय तटबन्धको डिजायनबारे माथिल्लो निकायलाई जानकारी गराइएको र तटबन्ध बारे विस्तृत अध्ययनका लागि विज्ञटोली पठाउन अनुरोध गरेको उनले बताए।
दार्चुला सदरमुकाम नजिकैको क्षेत्र महाकाली नगरपालिका वडा नम्बर १ कलोनमा निर्माण भइरहेको तटबन्धको काम रोकिएको छ। काम सुचारु गर्न भन्दै स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन्।
भारतले आफ्नो तटबन्ध बनाउँदा नेपाली क्षेत्रमा पुगी ढुंगा लगिरहेकाले वर्षायाममा नदीको धार नेपालतर्फ फर्किने जोखिम बढेको कलोनका स्थानीय सुरेन्द्रराज जोशीको भनाई छ। कलोन क्षेत्रको महाकाली नदी किनारमा ग्याबिन जालीको तटबन्ध निर्माण गरिएको भए पनि गत वर्षादमा नदीले बगाएको छ।