सरकारले १ लाख म्यादी प्रहरी भर्नाकाे लागि आवेदन खुल्ला गरेकाे छ। काठमाडौंलगायत देशभर ताेकिएका ठाउँहरुमा गत आइतबारदेखि आवेदन दिनेहरूकाे तँछाड मछाड चलिरहेको छ।
त्यसैगरी महागरीय प्रहरी परिसर, टेकुमा पनि आवेदन दिने मानिसहरुको भीड लागिरहेकाे छ। त्यहीँ भीडमा भेटिए, रामेछापका दीपक विश्वकर्मा, २०। जो नक्सालबाट म्यादी प्रहरीमा भर्ना हुन आएका थिए।
प्रहरी बनेर देशकाे सुरक्षा गर्ने उनकाे सानैदेखिकाे सपना थियाे। तर, परिस्थितले अन्यन्त्र बरालिरहेका उनी यसपटक भने म्यादी प्रहरी बनेर निर्वाचन सुरक्षा गर्ने याेजनाका साथ यहाँ आएका हुन्।
निवेदन बुझाएर बारिँदा अनुहारमा छुट्टै चमक देखिएका उनी बाेल्छन्,‘अब म पनि म्यादी प्रहरी हुने भएँ।’
हाल फर्निचरमा काम गरिरहेका उनी म्यादी प्रहरी बन्ने अवसर आएकाेमा निक्कै खुसी छन्। ‘म्यादी प्रहरी बन्यो भने सरकारी जागिर सहजै पाइन्छ रे ! त्यसैले आवेदन दिएको हुँ,’ उनले बिएल नेपाली सेवासँग भने।
फर्निचरको काम गरेर जीविका चलाइरहेका दीपकले आफूले गरिरहेको कामप्रति निक्कै माया लाग्ने बताउँछन्।
‘यहीँ कामले मलाई जीउन सिकायो। त्यसैले मलाई यो कामको माया लाग्छ,’ विगतका दिनहरुलाई सम्झिदै उनले भने,‘कसैको साथ नपाएको मैले कामको साथ पाएँ।’
सानैदेखि मामाघरमा हुर्किएका उनले बाबाआमाको साथ कहिल्यै पाएनन्। उनी सात महिनाको हुँदा बाबाआमाका देहान्त भयो रे। उनलाई त याद पनि छैन, बाबाआमाको अनुहार कस्तो थियो भन्ने।
अभिभावक गुमाएका उनी १५ वर्षकाे पुग्दासम्म मामाघरमै बसेकाे बताउँछन्। ‘मेरो परिवार भनेकै मामाघर हो, जसले मलाई हुर्काउनुभयो, पढाउनुभयो,’ उनले भने।
अभिभावककाे माया र छायाँ नपाएका उनका दाइहरू भने छन्। तर, विडम्बना उनी ती दाइहरूबाट पनि अपहेलित हुनुपर्याे। ‘जेठी आमाका दुई छोरा हुनुन्छ तर दाइहरुले मलाई भाइ मान्नु हुँदैन, वास्तै गर्नु हुँदैन,’ दुखी हुँदै उनले भने,‘तँ हाम्रो कोही होइनस्, भन्नुहुन्छ।’
आमाबाबाको साथ नपाएपछि नागरिकता बनाउन समेत उनलाई धेरै मुश्किल भयाे। ‘दाईहरुलाई नागरिकता बनाइदिन अनुरोध गरेँ तर मान्नुभएन अनि समाज बटुले बल्ला नागरिकता पाएँ,’ उनले भने।
दाइहरूले अंश समेत नदिएकाे दीपकको गुनासाे गर्छन्।
‘दाइहरुले अस्ति १२ रोपनी जग्गा बेच्नुभयो। तर, मलाई केही दिनुभएन। अंश माग्दा कुटपिट गर्ने धम्की दिनुहुन्छ। म केही भन्दिनँ। जब म ठूलो हुन्छु तब म अशं माग्नेछु,’ उनले भने।
दाइहरुको साथ नपाएर मामाघरमा हुर्किएका उनले कक्षा ८ सम्म मात्र पढ्न पाए। उनलाई पढ्न मन नभएको होइन। तर, गरिबीले उनलाई पढ्न दिएन।
‘मामाघरमा ७५ वर्षकी हजुरआमा र एउटा मामा हुनुन्छ। उहाँले कान सुन्नु हुन्न,’ उनले मामाघर सम्झिदै भने,‘मैले उहाँलाई धेरै दुख पनि दिनुभएन।’
दिनको ५०० कमाउने उनी कहिलेकाहीँ मामाघरमा पैसा पठाउने गर्छन्। ‘मामाघरमा पैसा कमाउने कोही छैनन्’ उनले भने।
गाउँमा मामालाई काममा सघाउने दीपक साथीहरूसँगै काठमाडौँ भित्रिएका हुन्। उनलाई साथीले प्रस्ताव राखेका थिए, काठमाडौं गएर काम गर्ने।
हालचाल दिनको ५ सय कमाउने उनी कहिलेकाहीँ मामाघरमा पनि पैसा पठाउने गर्छन्। ‘मामाघरमा पैसा कमाउने कोही छैनन्’ उनले भने, त्यसैले पठाइदिने गरेको छु।’