लेटाङ घटनाको जाँचबुझ हुन्छ : गृहमन्त्री खाँण

File Photo
File Photo

गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको घटनाको जाँचबुझ गरिने बताएका छन्।

गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

फागूपूर्णिमाका दिन चैत चार गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्र छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो।

त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको थियो।

‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ।’

गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।

त्यस्तै उनले कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

गृहमन्त्री खाँणले मोरङका प्रही प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीलाई टेलिफोन गरी कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

घटनामा २९ प्रहरी घाइते भएका थिए। तीमध्ये अहिलेसम्म पाँच प्रहरी कोशी अस्पतालमा उपचाररत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

प्रकाशित मिति: : 2022-03-21 18:17:00

प्रतिकृया दिनुहोस्