पैसा कमाउने प्रलोभनमा परेर भारतको पटना गएका मोरङ लेटाङ ३ सारुटोलका ३१ वर्षीय मनबहादुर मगरलाई पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको कमाण्डमा उद्दार गरिएको छ।
कपिलवस्तुका केशव मगरले मासिक २५ हजार भारु तलबमा जागिर लगाइ दिने भनेपछि फागुन २७ गते लेटाङबाट जोगबनी हुँदै मनबहादुर भारत गएका थिए।
कमाउन भनेर भारत गएका उनले त्यहाँ काम गर्न नसकेपछि पटनाबाट नेपाल घर फर्किन खोजे। तर उनी बीच बाटोमै हराए।
भारतमा जागिर लगाइदिने केशवले फोनबाट नै उनका परिवारलाई भनेका थिए, 'तिम्रो मान्छेले काम गर्न सकेन ,घर फर्किदै छ।' जसकारण मनबहादुरको घरमा चिन्ता सुरु भयो।
लेटाङबाट बिहीबार राति वीरगञ्ज पुगेका मनबहादुरका आफन्त सहित पत्रकार तेजन खड्काले राति नै जिल्ला प्रहरी कार्यालय पर्सामा मनबहादुरलाई खोजिदिन निवेदन दिएका थिए।
घरमा फोन गरेको भारतीय सीम र मनबहादुरलाई ट्याक्सी चढाएर नेपालमा फोन गर्ने ट्याक्सी चालकको सीमका आधारमा पर्सा प्रहरीले भारतीय प्रहरीसँग सम्पर्क गरेको थियो।
भारतबाट मनबहादुर नेपाल छिरेको सूचनाका आधारमा प्रहरीले रातभर मनबहादुरलाई खोजेको थियो।
खोज्ने क्रममा शुक्रबार बिहान ३ बजे मनबहादुरलाई वीरगञ्ज मै फेला पारि जिल्ला प्रहरी कार्यालय पर्साले भाई सन्तोष मगरलाई जिम्मा लगाएको हो।
मनबहादुरको शरिरमा चोट पटक पनि थियो। त्यसैले प्राथमिक उपचार गरेर आफन्तलाई बुझाएका छौं, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले भने।
प्रहरी कै सहयोगमा मनबहादुरलाई लेटाङ फर्काउँदै गरेको सन्तोषले बताए।