रोल्पा नगरपालिकाले पालिका अन्तर्गतका विद्यालय शिक्षकहरुलाई स्थानीय पाठयक्रमा आधारित क्षमता विकास कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले स्थानीय सरोकारवालाहरुको सभागितामा स्थानीय आवश्यकता अनुसार विषयवस्तु समावेश गरी निर्माण र कार्यान्वयन हुने पाठयक्रम नै स्थानीय पाठयक्रम रहेको बताए।
स्थानीय पाठयक्रम कार्यान्वयनले पेसा, व्यवसाय, मूल्य, मान्यता, भाषा, कला र संस्कृतिको सम्वर्धनमा सहयोग पुर्याउनेमा जोड दिए।
हाल राष्ट्रिय पाठयक्रम अनुसार स्थानीय पाठयक्रममा कक्षा १ देखि ३ सम्म साप्ताहिक ५ पाठ्यघण्टाका दरले वार्षिक १६० पाठ्यघण्टाको मातृभाषा सिप स्थानीय विषयवस्तुसम्बन्धी क्रियाकलापको रुपमा स्थानीय बिषयको रुपमा व्यवस्था गरेको छ।
रोल्पा नगरपालिकाले पनि कक्षा १ देखि ५ सम्मकोलागि स्थानीय विषयवस्तु समावेश भएको पाठयक्रम निर्माण विकास गरी शैक्षिक सत्र २०७८ देखि रोल्पा नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा परीक्षणको रुपमा पाठयक्रम ल्याईएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताए।
परीक्षणका क्रममा राम्रा अभ्यासको निरन्तरताका लागि सरोकारवाला, विज्ञ, अभिभावक तथा विद्यार्थीहरुबाट पाठयक्रम परिमार्जन तथा विकास निरन्तर रुपमा हुने समेत बताईएको छ।
नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत कर्ण पुनले गरेका थिए।