उसले नछुनु भनेदेखि पाखा लागेकी हुँ म
उसले छुन चाहना गरूञ्जेल
छोयो प्रेमको खोल ओढेर मेरो पवित्र हृदयमा
कोतारी रह्यो मेरा कोमल अङ्गमा नङ्ग्रा गाढेर
मेरा पवित्र सपनासँग ताण्डव नृत्य नाच्यो
अबोध खुशीहरुको हत्या गर्यो।
जब अघायो जुठो लाग्यो तिनै निर्दोष अङ्ग
अनि अपवित्र भएँ म
डस्टविनमा मिल्काएको फोहोर बनेँ म।
जब भोको थियाै
जुठो लागेन मेरो अधर
अछुत लागेन स्तनपान
छोडेन सहवास हुँदासम्म
मेरो प्रेम त निश्चल थियो
मेरा आँशु जलभन्दा पवित्र थिए
मेरो शरीर शुद्ध थियो
तर, मलाई अपवित्र बनायो कसले आखिर ?
म सोध्न चाहन्छु
अशुद्ध ऊ थियो कि म ?
महासय !
मेरै बाले सिलाएर ढाकेका हुन्
तिम्रो आङको लाज
ढाकेको हो तिम्रो नंग्न गोप्य अङ्ग !
काकाले आफ्नै भाग्यलाई भुङ्रोमा डढाएर
बनाएको हो तिम्रा औजारहरु
जसलाई तिमी आजभोलि मेरो खुशी काटन प्रयोग गर्छौ
मेरै बाजेको कलाले श्रृङ्गारिएको हो
तिम्रा चेलिबेटीका गहना।
अब पराकाष्ठाको कालो बादल लाग्ने दिन आउँदैछ
मेरो बाले सिलाएको रातो वस्त्र टाउको बाँधेर
काकाले बनाएको औजार हातमा भिरेर
तिम्रो अन्याय विरुद्धको अन्तिम लडाइँ लड्न आउदैछु म !!