काठमाडाैँमा ह्योल्मो समुदायका मानिसहरूले छेच्यु पर्व धुमधामका मनाएका छन्। बौद्ध-तिनचुलीस्थित हयोलमो जब्साङ देक्षेन होशाल छ्योलीङ गुम्बामा शनिबार काठमाण्डौंमा बसाेबास गर्दै आएका ह्योल्मो समुदायले पर्व मनाएका हुन्।
एक महिनाअघि उक्त पर्व सिन्धुपाल्चाेककाे हेलम्बुमा मनाइएकाे थियाे। हिमाली भेगमा बौद्ध धर्म फैलाउने महागुरु पद्मसंभवले आफ्न अनुयायीका लागि योग, ध्यान र साधना गर्न बहुमूल्य निधि र धार्मिक पुस्तक हेलम्बु क्षेत्रमा जनविश्वास छ।
प्रत्येक वर्ष मनाउने छेच्यु पर्व यस वर्ष पनि हेलम्बुको विभिन्न गाउँमा धुमधामले मनाइएकाे थियाे।
सेर्माथाङ, टार्केघ्याङ, मेलम्छ्याङ, नाकोटे र कुटुमसाङ, घाङ्ग्युल, छेङ्ग्युँचे, टपखर्क र काजे लगायतका ह्योल्मो गाउँमा विभिन्न फरक–फरक दिनमा यो पर्व मनाइन्छ, जुन पूर्णिमाको दिन सम्पन्न हुन्छ।
ह्योल्मो समाज सेवा केन्द्रका महासचिव टासी डी. ह्योल्मोले हेलम्बुमा मनाएको एक महिनापछि चन्द्र क्यालेन्डरको दशमीका दिन सबै ह्योल्मो समुदायले काठमाडौंको तिनचुली, बौद्धस्थित ह्योल्मो गुम्बामा भेला भएर पर्व मनाउने चलन रहेको बताए।
शेर्माथाङमा ७-८ गाउँका मानिसहरु भेला भएर पर्व मनाइन्छ त्यसतै नजिकै स्युगेन्चेमा पनि वडो हर्सोल्लासको साथ छेच्यु पर्व मनाउछन्।
छेच्यु पूजा किन मनाइन्छ ?
हेलम्बु क्षेत्रमा बसोवास गर्ने ह्योल्मो समुदाय बौद्धगार्मी हुन्। गुरु रिम्पोछेले ध्यान र तपस्या गरेको तपोभूमिमा उनले भविष्यका लागि भनेर धार्मिक महत्वका पवित्र (तेर) लुकाएर राखेको विश्वास गरिन्छ।
बुधबार पूर्णिमाको दिन स्यांगुछे र सेर्माथाङमा ठूलो पूजा गरिदैछ। गुरु रिन्पोछे (पद्मसंभव) को पहलमा उत्पत्ति भएको स्थानीय वुद्धिजिवी पूर्ण लामाले बताए। उतिबेला व्याप्त खराब र नकारात्मक शक्तिलाई रोक्न छेचु पर्वको उत्पत्ति भएकाे जनविश्वास छ। धार्मिक र आध्यात्मिक प्रगति अक्सर यी दुष्ट शक्तिहरुद्वारा विजय पाउन पनि पूजा गरिएको हो।
पद्मसमभवको जन्मजयन्तिको पुण्य तिथिमा वर्सेनी छेच्यु पूजा गरिन्छ। चन्द्रमास पात्रोअनुसार सोनाम ल्होसार पर्व मनाएको पञ्चमीदेखि पूर्णिमासम्म छेच्यु पर्व धुमधामले मनाइन्छ। गाउँहरूले आ–आफ्नै किसिमले पर्व मनाउँछन्।
ह्योल्मो समयदायी पहिलो सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मोले पर्वको वेला आ-आफ्नो घर फर्केर परिवार इस्ट मित्र भेटघाट, खानपिन गरेर खुशी साटासाट गरी मनाउने बताइन्। हेलम्बुको गाउँबाट बाहिर बसोबास गर्ने र गाउँमा छेच्यु पर्व मनाउन छुटेका ह्योल्मो समुदायले काठमाडाैँमा मनाइने गरिएकाे बताइन्।
पाँच दिनसम्म धार्मिक पुस्तक (ह्युम पाठ) गरेपछि पर्व सुरु हुन्छ। बौद्ध धर्मग्रन्थअनुसार गुरु रिम्पोछेद्वारा स्थापना गरेका तान्त्रिक नृत्यद्वारा राक्षसमाथि विजय प्राप्त गरेको खुशीयालीमा उत्सव मनाउने चलन रहेको छ। पाल्मो छ्योलिङ गुम्बाका अध्यक्ष फुर्वा लामा ह्योल्मोका अनुसार विश्व प्राणी जगतमा सुख, शान्ति र समृद्धिको लागि कामना गर्ने वार्षिक छेच्यु पूजा गरिने बताएका छन। वर्षभरी मनाइने पूजाहरुमा युङ्नी पूजामा मौन वर्त बसिन्छ। कुँवर पूजा दिर्घायुको लागि माने स्तुपामा मर्मत सम्भार गर्ने हुन्छ। र, सङ पूजा अन्न वाली सप्रियोस भनेर पूजा गरिन्छ।
यसवर्ष पनि छेच्युमा वौद्धिस्ट विधिअनुसर पूजा गरेर विनाशकारी महाप्रलय, रोग व्याधि र द्वन्द्वबाट बच्ने कामना गरेका छन। त्यसैगरी लोभ, इर्ष्या र क्रोध निवारण, विश्व शान्ति र मानव मुक्तिको कामना गर्दै धार्मिक विधि विधानअनुसार भूतप्रेत मन्छाउने छन।
विशेष किसिमका पूजा विधि गर्दै देवीदेवताका प्रतीकका रुपमा मुकुण्डो लगाएर लामाहरू नाच्ने गरिन्छ। स्थानीय महिला पुरुष परम्परागत भेषभुषामा अलग्गै हात समाएर गोलाकार भएर स्याब्रुमा झुम्दै लामाहरुलाई साथ दिन्छन।
बाजागाजाको तालमा लामाहरूले मुकुण्डो नाच नाच्छन र स्थानीय स्याब्रुमा नाचेर खुशी साटसाट गर्छन। लामाले अभिषेक तथा अमृत जल वितरण गर्दै सबै गाउँलेलाई आशीर्वाद दिन्छन। आगामी वर्षभरि सुख, शान्ति तथा समृद्धिको कामना गर्दै छेच्यु पर्व समापन हुन्छ।
प्रत्येक वर्ष छेच्यु पर्वमा एक दुई जनाले सबै गाउँलेलाई खाना प्रायोजन गर्ने चलन छ। गाउँको प्रत्येक घरले पूजाका लागि खाना वा अन्य स्रोतहरू योगदान गरेर सहयोग गर्छन।