फुङ्लिङमा प्रत्येक वर्ष आगलागीबाट ठूलो क्षति

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रत्येक वर्ष ठूला आगलागीका घटना हुने गरेका छन्।

पटक–पटक हुने आगलागी घटनाबाट ठूलो धन सम्पत्तिको क्षति हुँदै आएको छ भने शुक्रबार भएको आगलागीले मानवीय क्षतिसमेत गराएको छ।

शुक्रबार बिहान फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा भएको आगलागीमा परी ६७ वर्षीया चुलीमाया चोङ्बाङ लिम्बूको मृत्यु भएको छ। केही समय अघिदेखि फुङ्लिङ बजारस्थित आफ्नो छोरीसँग बस्दै आएकी मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु बस्ने लिम्बूको आगलागीमा ज्यान गएको हो। 

प्रहरीकाअनुसार आगलागीमा परी गम्भीर घाइते भएपछि लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो।

बिहान ९ बजे कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट आगलागी सुरु भएको थियो। आगलागीबाट नजिकै रहेको संगीता मादेन लिम्बूको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ। आङ्बुहाङको अर्को पक्की घरमासमेत आंसिक क्षति पुगेको छ। मृतककी कान्छी छोरी कौशिला लिम्बू आङ्बुहाङको घरमा भाडामा बसेर फुङ्लिङ बजारमा फेन्सी कपडा व्यवसाय गर्दै आएका छन्।

उता आगलागीबाट केही सामान्य घाइते भएका छन्। आगोबाट ज्यान बचाउनलाई भाग्ने र आगो नियन्त्रणमा लिने क्रममा केही स्थानीय घाइते भएका हुन्। आगलागीबाट घरधनी र भाडावाल गरेर आधा दर्जन बढी परिवार विस्थापित भएका छन्। विस्थापित हुनेमा घरधनी आङ्बुहाङ र मादेनको परिवार हुनुहुन्छ भने उक्त दुई घरमा भाडामा बस्नेहरू कुमारी शेर्पा, कौशिला लिम्बू, रेनुका लिम्बू, जङ्ग शेर्पा विस्थापित भएको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ।

त्यस्तै टङ्क अन्छङ्बो, कुमारी तामाङको परिवार र कोठा भाडामा बस्ने एक जना विद्यार्थीसमेत विस्थापित भएका छन्। विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य संघ ताप्लेजुङले खाद्यान्न, भाँडावर्तन र लत्ता कपडाजस्ता सामग्री वितरण गरेको सभापति इन्द्रबहादुर गुरुङले बताए।

आगलागीबाट के कति क्षति भयो भन्ने विषयमा तथ्यांक संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागी भने लापरबाहीले भएको हुनसक्ने प्रहरीको अनुमान छ।  

सदरमुकाम फुङ्लिङ बजारमा पटक–पटक हुने आगलागी घटनामा घरधनी र धेरै भाडामा बस्नेहरूले धनसम्पत्ति गुमाउँदै आएका छन्। आगलागीले नगद, सुनचाँदी, व्यापार प्रयोजनका जिन्सी सामग्री लगायतका पूर्वाधार तथा संरचना जलेर नष्ट हुने हुँदा ठूलो धनसम्पत्ति क्षति हुने गरेको छ। मानवीय क्षति भने यो दोस्रो पटक हो। यसअघि तोक्मेबजारको हटिया लाइनमा आगलागी हुँदा एक पुरुषको जलेर मृत्यु भएको थियो।
 
फुङ्लिङमा आगलागी शृङ्खला
 
सदरमुकाम फुङ्लिङ बजारमा विगत २०६० सालयता १८ वर्षको अवधिमा पाँच ठूला–ठूला आगलागी घटना भएका छन्। यस अवधिमा बजारभित्रै ससाना आगलागीका घटना भने धेरै भएका छन्।  जिल्लास्थित प्रहरी र रेडक्रस सोसाइटीले राखेको तथ्यांकअनुसार पहिलो पटक २०६० चैत १५ गते सदरमुकाममा ठूलो आगलागी घटना भएको थियो।

सदरमुकामको मुख्यबजार वीरेन्द्रचौकमा आगलागी हुँदा ४४ घर जलेर नष्ट भएका थिए। वीरेन्द्रचौकमा भएको आगलागीबाट १२९ परिवार विस्थापित भएका थिए भने ४१ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। यस्तै २०६९ माघ २६ गते फुङ्लिङबजारको शेर्पा टोलमा आगलागी हुँदा आठ घर जलेका थिए। उक्त आगलागीबाट १८ परिवार विस्थापित भ एभने आठ करोड रुपियाँ बढीको क्षति हुन पुगेको थियो।

फुङ्लिङ बजारकै टुक्रेलाइनमा २०७० कात्तिक १८ गते भएको आगलागीमा आठ घर पूर्णरुपमा जलेका थिए। सो आगलागीमा १७ परिवार विस्थापित भएका र करिब पाँच करोड रुपियाँ बराबरको क्षति भएको थियो। यसैगरी तोक्मेबजार क्षेत्रमा २०७१ चैत ९ गते भएको भीषण आगलागीमा ३७ घर जलेका थिए। उक्त सङ्ख्यामा घर जल्दा घरधनी र डेरावालसमेत १४५ परिवार विस्थापित भए भने ४० करोड रुपियाँको क्षति हुन पुगेको थियो।

त्यस्तै २०७७ वैशाख १९ गते फुङ्लिङबजारको पुरानो बैङ्क लाइनमा आगलागी हुँदा आठ घर जलेको थियो भने ३० परिवार विस्थापित भएका थिए। सो आगलागीबाट सात करोड ६५ लाख ७२ हजार रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको तथ्याङ्क रहेको छ।

यसरी सदरमुकाम फुङ्लिङ बजारमा विभिन्न समयमा पटक–पटक आगलागी हुँदा ठूलो धन सम्पत्तिको क्षति भएको तथ्याङ्क छ। आगलागी घटना अधिकांश असावधानी र लापरबाहीले हुने गरेका छन् भने केही विद्युत् सर्ट र अन्य कारणबाट हुने गरेको तथ्याङ्कमा उल्लेख छ। बजारमा पुरानो तथा काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएका संरचनाका कारण आगो सुरु भएपछि चाँडै धेरैतिर फैलने र क्षति पुर्‍याउने गरेको छ। दिलकुमार लिम्बू 

प्रकाशित मिति: : 2022-03-11 19:57:00

प्रतिकृया दिनुहोस्