दाङमा दिउँसै एक महिलामाथि लुटपाट भएको छ।
बैंकबाट पैसा निकालेर घर जाँदै गरेकी घोराही उपमहानगरपालिका १३ बस्ने ४८ वर्षीया झुका रोकामाथि विहीबार दिउँसो ३ बजे लुटपाट भएको हो।
रोकामाथि बिहीबार दिउँसो ३ बजे भारतबाट पठाएको नगद रु ४ लाख ६७ हजार ७ सय २० रुपैयाँ बैंकबाट निकालेर घर जाँदै गर्दा लुटपाट भएको थियो। उनी बैंकबाट पैसा निकालेर अटोमा चढी घर नजिकै गएकी थिइन्।
अटोबाट झरेर घर जाँदै गर्दा मोटरसाइकलमा आएका एक युवकले रोकाले बोकेको हाते पर्स खोसेर लगेका थिए।
लुटपाट भएको खबरपाएपछि परिचालन भएको प्रहरीले घोराही १३ बाट नै घोराही ९ बस्ने २४ वर्षीय गणेश कुमार डाँगीलाई पक्राउ गरेको थियो।
उनको साथबाट लुटपाट भएको पैसासहित एउटा मोबाइल र बाइक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेकाे छ।