खोटाङमा गोरुले हान्दा गम्भीर घाइते बनेका पुरुषको मृत्यु भएको छ।
गोरुले हान्दा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ५० वर्षीय असुरध्वज राईको बुधबार राती मृत्यु भएको हो।
चराउन लगेको बेला गोरुले बुधबार बिहान हान्दा गम्भीर घाइते भएका राईको फेमिली केयर अस्पताल दिक्तेलमा उपचारकोक्रममा मृत्यु भएको हो।
मलका लागि आफन्तबाट ल्याएर पाल्न थालेको केही दिनपछि राईलाई गोरुले हानेको हो। गोरुको सिङले पेटको देब्रे साइडमा छेड्दा राईको आन्द्रा बाहिर निस्केको आफन्तले बताएका छन्।
घाइतेको बाहिर निस्केको आन्द्रालाई फेमिली केयर अस्पतालमा इमरजेन्सी अपरेसन गरेर पूर्ववत् अवस्थामा फर्काइए पनि बचाउ नसकिएको जनाइएको छ। आर्थिक अवस्था कमजोर भएका कारण जनता समाजवादी पार्टी खोटाङका युवा नेता रविन खम्बू लगायतका छिमेकी तथा शुभेच्छुकले सहयोग उठाएर उपचार सुरु गरिएको थियो।