अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डल रहेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी उनले ठगी गरेको आरोप प्रहरीले लगाएको छ।
लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको भन्दै उनले विभिन्न व्यक्तिसँग बैंक खाता र ओटीपी कोड लिई रकम आफ्नो बैंक खातामा सारेको प्रहरीले जनाएको छ। उनले दुई लाख एक हजार रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँग आवश्यक समन्यव गरी उनलाई पक्राउ गरेको हो।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।