मिस्टर भक्का, अष्ट्रेलियामा नभेटेको सफलताको स्वाद (भिडियोसहित)

अष्ट्रेलिया, अधिकांश नेपाली युवाकाे सपनाकाे सहर। त्यही सपनाकाे सहरमा पुग्न धेरै युवाले अधिक प्रयत्न गर्छन्। नेपालमा उच्च शिक्षा अध्ययनपछि अष्ट्रेलिया जाने र उतै सुखद जीवनयापन गर्ने साेच राख्नु नेपाली विद्यार्थीकाे लागि सामान्य कुरा हाे। यस्तै सपना बाेकेर आजभन्दा करिब १३ वर्षअघि झापाका विदुर पाेखरेल पनि अष्ट्रलिया पुगेका थिए।

सामान्य परिवारमा हुर्किएका पोखरेल ठूलो रकम जम्मा गरेर उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया हान्निएका थिए। उनको पनि सपना थियने,  पढाइसँगै काम गर्ने र उतै स्थापित हुने। तर, नेपालबाट कल्पना गरेको जस्तो कहाँ थियो र, अष्ट्रेलिया। त्यहाँ उनले धेरै दुख गर्नु पर्‍यो।

अष्ट्रेलियामा अन्य नेपाली विद्यार्थी जस्तै उनले पनि जीवन गुजरा गर्न थाले। उनले सोचेको जस्तौ थिएन, अष्ट्रेलिया। उनले त्यहाँ दश वर्ष बिताएपछि  नेपाल फर्किए। अष्ट्रेलियमा हस्पिटालिटी म्यानेजमेन्ट पढेका उनलाई  सोही अनुसारको काम नेपालमा पाउन कठिन  थियो। पाइए पनि राम्रो सेवा सुविधा पाउने गाह्रो।

उनले नेपाल फर्किएपछि व्यवसाय गर्ने साेच बनाए। आखिर उनले अष्ट्रेलियमा सिकेकाे पनि त्यही थियाे। त्याेभन्दा ठूलाे कुरा जीवन कसरी खुशी साथ बिताउन सकिन्छ भन्ने उनले बुझेका थिए। त्यसैले काठमाडाैँकाे तीनकुनेमा आइसक्रिम पसल खाेले। काठमाडाैँकाे गर्मिलाे माैसममा उनकाे व्यापार राम्राे भयाे। तर, आइसक्रिमकाे व्यापार बाह्रै महिना चल्छ भन्ने हुँदैन थियाे, उनले अर्काे व्यवसाय गर्ने साेच बनाए।

व्यापार त गर्ने, तर के ?  उनकाे मनमा यही साेच लामाे समयसम्म टिक्याे।

उनलाई काठमाडाैँमा कुनै नयाँ व्यापार गर्ने रहर लाग्याे। त्यसैले पूर्वेली समुदायमा लाेकप्रिय परिकार ‘भक्का’ काठमाडाैँमा भित्र्याउने याेजना बनाए।

संसार परिवर्तनशील छ। मान्छेहरूले नयाँपनकाे खाेजी गरिरहेकाे हुन्छन्। साेही कुरा बुझेका विदुरले पूर्वकाे प्रख्यात परिकार काठमाडाैँमा भित्र्याएर देशका सबै कुनाबाट राजधानीमा आएका मानिसलाई चखाउने संकल्प गरे। त्यसपछि तीनकुनेमा सुरू भयाे, उनकाे भक्काकाे व्यापार।

काठमाडाैँमा भक्का ?

धेरै मानिसकाे ध्यान उनकाे पसलतर्फ केन्द्रित भयाे। उनले साेचेकाे भन्दा राम्राे व्यापार भयाे। उनले याे व्यवसायबाट राम्राे सफलता पाए, जुन उनले अष्ट्रेलिया पुगेर पनि चाख्न पाएका थिएनन्।

‘अहिले धेरै मानिसको रुचिमा म:म, चाउमिन, पिज्जालगायत खानेकुरा छन् तर मलाई स्वास्थ्यकाे लागि फाइदा हुने खानेकुरा बेच्न मन लाग्याे त्यसैले भक्काकाे व्यापार गरेँ,’ विदुरले भने,‘मान्छेलाई नयाँ स्वाद चखाउनु पनि पाइएकाे छ, मेराे व्यापार पनि राम्राे भएकाे छ।’

उनी साथमा मट्का चिया र स्वादिलाे पानीपुरी पनि बेच्छन्।

उनकाे पसलमा पाइने मट्का चिया पनि धेरैकाे राेजाइमा परेकाे परिकार हाे। नयाँ स्वादका परिकार पाइने भएकाेले उनकाे पसलमा धेरै टाढादेखि पनि मानिसहरू आउने गर्छन्। उनकाे पसलमा नेता, व्यापारी, कर्मचारी, विद्यार्थीलगायत सबै किसिमका मानिसहरू छिर्ने गर्छन्।

करिब दुई वर्षअघि उनकाे पसलमा भक्का खाएका शेफ सन्ताेष शाह र गायक राजेश पायल राईले उनकाे व्यवसायकाे धेरै तारिफ गरेकाे थिए।

सुरूवाती दिनमा अलि धेरै मिहिनेत गर्न परे पनि अहिले भने सबै कुरा सहज भएकाे उनकाे भनाई छ। ‘पहिला त धेरै गाह्राे थियाे तर विस्तारै सहज हुँदै गयाे, अहिले धेरैकाे हाैसला मिलेकाे छ,’  उनले मुस्कुराउँदै भने।

उनले विदेशमा भन्दा नेपालमा काम गर्न सहज भएकाे र आफू सन्तुष्ट रहेकाे बताए।

‘म १० वर्ष अष्ट्रेलियामा बसेर यहाँ आएँ, त्यहाँ गएपछि थाहा भयो, नेपालमा के–के छ भनेर। विदेश गएपछि मात्र थाहा हुन्छ त्यहाँकाे दुख र नेपालकाे माया,’ उनी सुनाउँछन्,‘त्यही मायाले नेपालतर्फ तान्याे।’

उनी हाल दैनिक १५ हजारभन्दा बढीकाे व्यापार हुने गरेकाे सुनाउँछन्। उनकाे पसलमा मानिस जतिबेला पनि खचाखच हुने गर्छ।

प्रकाशित मिति: : 2022-03-06 20:16:00

प्रतिकृया दिनुहोस्