सरकारले हिमालको फोहोर उठाउनका लागि विनियोजन गरेको बजेट अपुग भएको नेपाली सेनाले जनाएको छ।
सरकारले छुट्टयाएको ४ करोड ६६ लाख ७० हजार रुपैयाँले भनेजस्तो फोहोर उठाउन मुस्किल हुने सेनाको भनाई छ।
सेनाकाअनुसार हिमालको फोहोर उठाउन १२ करोड २९ लाख ६७ हजार ३७२ रुपैयाँ खर्च लाग्छ, तर सरकारले भने ८ करोड ३० लाख रुपैयाँ मात्र खर्च छुट्टयाएको छ।
पर्शनल क्लोदिङ् तथा इक्युप्मेन्ट खरिदमा ९६ लाख, ह्याण्डलिङ एजेन्सीको खरिदमा ६ करोड १९ लाख ५० हजार, भत्ता ६९ लाख ४२ हजार र विविध खर्चमा ४ करोड ४५ लाख रुपैयाँ लाग्ने सेनाले बताएको छ।
अघिल्लो वर्ष सरकारले १० करोड रुपैयाँ रकम विनियोजन गरेको थियो। सेनाको तर्फबाट प्रयोग हुने हवाइ इन्धन, मेडिकल खर्च र सञ्चार खण्डमा मात्रै १ करोड ३० लाख रुपैयाँ खर्च हुने बताएको छ।
नेपाली सेनाले ४ वटा हिमालमा भएका ३५ टन फोहोर संकलन गर्ने भएको छ। सगरमाथा, कञ्चनजंघा, ल्होत्से र मनास्लुमा रहेको फोहोर संकलन गरेर रिसाइकलिङ गर्न लागेको सेनाले जनाएको छ।
सगरमाथाबाट बेस क्याम्पभन्दा माथि रहेका ६ टन र बेस क्याम्प वरपरका ८ टन गरी १४ टन फोहोर संकलन गर्ने भएको छ।
कञ्चनजंघाको बेस क्याम्प वरपरको ७ र बेस क्याम्पभन्दा माथि ३ टन गरी १०, ल्होत्सेको बेस क्याम्पमा ४ र बेस क्याम्पभन्दा माथि २ टन गरी ६ टन र मनास्लुको बेसमा ३ र बेसभन्दा माथि २ टन गरेर ५ टन गरी जम्मा ३५ टन संकलन गर्न लागेको नेपाली सेनाका सहायक रथी हिमान्सु खड्काले केही दिन अगाडि जङ्गी अड्डामा भएको पत्रकार सम्मेलनमा जानाकारी दिएका थिए।
सेनाले आफ्नो नेतृत्वमा विभिन्न निकायहरुसँगकाे समन्वयमा ३ चरणको कार्यक्रम बनाएर हिमाल सफा गर्न लागेको हाे।
पर्यटन विभाग, वातावरण विभाग, हिमालयन एसोसियसन, पर्यटन बोर्डलगायतका सरकारी र गैरसरकारी निकायसँग समन्वय रहेको सेनाले जनाएको छ।
पहिलो चरणमा कार्तिक २० गतेदेखि फागुन १५ गतेसम्म पूर्व तयारी गरेको छ। दोस्रो चरणमा फागुन १५ गतेदेखि चैत १५ गतेसम्म एक्लिमटाईजेशन तालिम सञ्चालन गरिरहेको छ भने २२ गतेदेखि ४ वटा हिमालहरुको सफाइ सुरु गर्न लागेको सेनाले जनाएको छ।
अघिल्लो वर्ष सेनाले धौलागिरी, मकालु र सगरमाथा गरी ३ वटा हिमालबाट २७.६ टन फोहोर संकलन गरेर १० टन रिसाइकल गरेको थियो। सफाइको क्रममा सेनाले ४ वटा मृत शरीरहरु पनि फेला पारेको थियो। ४ वटा हिमालमा ३ सय मृत शरीर भएको अनुमान गरेको सेनाले जनाएको छ।
हिमाल सफाइ अभियानमा ९१ जना जनशक्ति लाग्ने नेपाली सेनाले जनाएको छ। सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुमा १/१ जना अभियान लिडर र २/२ जना डाक्टर अधिकृत र बेस क्याम्प म्यानेजर आवश्यक पर्ने छन्।
सगरमाथा र ल्होत्सेमा ८/८ जना, कञ्चनजंघा र मनास्लुमा ६/६ जना भेरिफिकेशन मोनिटरिङ टिम, फोहोर संकलन र लोड फेरी गरेर ४८ जना, रियर अप्स र समन्वय र कार्य समिति गरेर १४ जना लाग्ने नेपाली सेनाले जनाएको छ। सेनाले लोड फेरीको लागि आवश्यक परे शेर्पा सपोर्टहरुको संख्या थप गर्न सकिने बताएको छ।