बालकुमारी मन्दिरमा साइरनसहितको सुरक्षायन्त्र जडान गरिँदै

ललितपुरको सुनाकोठीस्थित बलकुमारीको मन्दिरमा साइरनसहितकाे सुरक्षायन्त्र जडान गरिने भएकाे छ। मन्दिरमा रहेकाे तीन सय वर्ष पूरानाे बालकुमारीकाे मुर्ति करिब तीन साताअघि हराएकाे थियाे।

हराएकाे मुर्ति खाेज्न सरकारले विशेष अनुशन्धान टाेली परिचालन गरेकाे थियाे। उक्त टाेलीले २० दिनपछि फेला पारेकाे मुर्ति पुन: चाेरी नहाेस् भनेर साइरनसहितकाे सुरक्षायन्त्र जडान गर्न लागिएकाे हाे। चोरी भएकाे मुर्ति सातदोबाटोनजिकबाट फेला परेकाे थियाे। 

ललितपुर महानगर-२६ का वडाध्यक्ष बाबुराजा महर्जनले स्थानीय जनप्रतिनिधि गुठियार र बालकुमारी मन्दिरका भलाद्मीहरूको बैठकले मन्दिरको ढोकामा डोर सेन्सर, साइरन र जिपिएसलगायतका सुरक्षा प्रविधि अपनाउने निर्णय भएको बताए। सीसीटीभी जडान गर्ने तयारी हुँदै गर्दा मूर्ति चोरी भएको महर्जनको भनाइ छ। उनले भने, ‘हामीले मूर्ति चोरी भएपछि अन्डरलक समेत राखिसकेका छौं।’

मूर्ति चोरी हुनुअघि मन्दिर प्रवेशद्वारमा नाै वटा ताला फोरेर मूर्ति चोरिएको मन्दिरका भलाद्मी पुनिराज महर्जनले बताए। उनका अनुसार मूर्ति चोरी भएपछि मन्दिर परिसरमा सीसीटीभी जडान भइसकेकाे छ।

बैठकमा महानगरका वडाध्यक्षहरू सुरेश महर्जन, बाबुराजा महर्जन, प्रदेश सभासदहरू राजकाजी महर्जन, दिनेश महर्जन, भलाद्मीहरू मन्दिरका पुनिराज महर्जन, नन्नबहादुर महर्जन, जनकराज महर्जनलगायत सहभागी थिए।

मूर्तिसँगै चाँदीको आधा किलोकाे चाँदीको जामा सुनको तिलहरीलगायतका सामान भने नभेटिएको भलादमी महर्जनले बताए। उनले भने, ‘अन्य धेरै गरगहना सेफमा राखिएको थियो। ती खजाना भने चोरी भएको छैन।’ 

बालकुमारी माई मूर्ति खोजी गर्न खोजीसहित गठन गरिएको थियो। गत ९ माघ राति मन्दिरबाट मूर्ति चोरी भएको थियो भने २८ माघ बिहान सातदोवाटोनजिक मूर्ति छोडिएको अवस्थामा भेटिएको थियो। २०५३ सालसम्म मन्दिरमा ६ जनाले मूर्तिको सुरक्षा दिने गर्थे।

बलकुमारी माई गुठीको एक सयभन्दा धेरै जग्गा छ। यही गुठीको आम्दानीबाट मन्दिरको जात्रा र भोज चलाइने गरिएको छ। हरेक वर्ष पुसमा यमोरी पुन्ही र चैत पुर्णिमामा बालकुमारीको जात्रा चल्छ। 

मन्दिरमा समुदायकै जेष्ठ नागरिकको परिवारले दैनिक पूजाआजा चलाउने गर्छन । भलाद्मी महर्जनका अनुसार पुजारीले मन्दिरको भेटी संकलन गर्ने अधिकार हुन्छ भने वर्षको डेढ मुरी धान, मकै तलब स्वरुप पाउँछ। बलकुमारी फाँट र बस्तीमा दुइ वटा मन्दिर छ। फाँटमा रहेको मन्दिर आमा र बस्तीको मन्दिरलाई छोरीको रुपमा पुज्ने गरिन्छ।

प्रकाशित मिति: : 2022-02-13 13:34:00

प्रतिकृया दिनुहोस्