जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका एमालेका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेकाे छ।
जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको छ।
महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन्। यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए। उनले भने, ‘सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो। अब अनुसन्धान अघि बढ्छ।’