दुई वडा जोड्ने झोलुङ्गे पुलनिर्माण

File photo
File photo

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ र ८ जोड्न झोलुङ्गे पुलनिर्माण गरिएको छ। मर्स्याङ्दी ३ खुदीमा रहेका अमर माध्यमिक विद्यालय र वडा नम्बर ८ आम्बोटे जोड्ने मर्स्याङ्दी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो। ५३ लाख ५३ हजार ६ सय १० रुपैयाँ ८७ पैसाको लागतमा निर्मण सम्पन्न भएका उक्त झोलुङ्गे पुल १ सय ५  मिटर लम्बाइ  र साँढे १ मिटर चौडा रहेको छ।

झोलुङ्गे पुल गाउँपालिकाको सहयोग र स्थानीय जनश्रमदानबाट निर्माण गरिएको हो। पुलनिर्माण उपभोक्ता समितिका अध्यक्ष भीम घलेका अनुसार झोलुङ्गे पुल निर्माणका लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट ४५ लाख २४ हजार ८२ रुपैयाँ ३६ पैसा, मर्स्याङ्दी गाउँपालिकाको ७ लाख १८ हजार ९ सय २८ रुपैयाँ ५१ पैसा र १ लाख १० हजार ६ सय रुपैयाँ बराबरको जनश्रमदान गरी कुल ५३ लाख ५३ हजार ६ सय १० रुपैयाँ ८७ पैसाको लागतमा निर्माण सम्पन्न भएको बताए। पुलको निर्माण कार्य २०७७ साल फागुन १४ गतेबाट सुरु भएको र २०७८ पुस २० गते सम्पन्न भएको अध्यक्ष घलेले बताए।

उनका अनुसार पुलनिर्माणका लागि अनुमानित लागत ५५ लाख ३० हजार १ सय १९ रुपैयाँ रहेकोमा लागत अनुमान भन्दा कम खर्चमा पुल सम्पन्न भएको हो।

उक्त पुलको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका छन्। पुल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले सार्वजनिक सडक, पुल सिँचाई  खानेपानी, शिक्षा स्वास्थ्य जस्ता सुविधा जनतालाई उपलब्ध गराउने दायित्व सरकारको भएको बताए। दुई वडा जोड्ने पुल निर्माणपछि मर्स्याङ्दी ३ र ८ का स्थानीयलाई आवतजावतमा सहज भएको अध्यक्ष गुरुङले बताए। 

प्रकाशित मिति: : 2022-02-09 20:15:00

प्रतिकृया दिनुहोस्