प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बेवास्ता गर्न थालेका छन्।
प्रचण्ड–नेपालको प्रस्तावविपरीत एमसीसी सम्झौता अघि बढाउन खोजेका देउवाले उनीहरूकै सहमतिविपरीत स्थानीय तहको निर्वाचन घोषणा गरेका छन्।
एमसीसी सम्झौताका कारण बढ्दै गएको गठबन्धनको दुरी स्थानीय तहको निर्वाचन घोषणापछि झनै बढ्ने देखिएको छ।
प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपाललाई पेलेर अघि बढ्न थालेका छन्। आगामी तीनै तहका निर्वाचनसम्म गठबन्धन कायम रहने सहमतिअनुसार प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व गरिरहेको भएपनि पछिल्लो समय देउवाले सत्ता सारथी दलहरुलाई बेवास्ता गर्दै अघि बढ्न थालेका हुन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीको प्रस्तावविपरीत यतास्थितिमा एमसीसी सम्झौता कार्यान्वयन गर्न अग्रसर देखिएको देउवा सरकारले प्रचण्ड–नेपालकै सहमतिविपरीत स्थानीय निकायको चुनाव समेत घोषणा गरेको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन पर धकेल्न प्रधानमन्त्री देउवालाई दबाव दिँदै आएकाे थियाे। तर देउवालाई स्थानीय तहको निर्वाचन गराउन चौतर्फी दबाब आएपछि देउवाले माघ १५ गते बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाएर दलहरुसँग छलफल गरेका थिए।
गठबन्धनमा आबद्ध दलहरुले स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा संविधान र ऐन बाझिएको भन्दै गत माघ १५ गते मात्रै ऐन संशोधन गर्ने र जेठमा स्थानीय तहको निर्वाचन गर्ने गरी सहमति भएको थियो। तर गठबन्धनको सहमतिवेगर देउवा नेतृत्वको सरकारले सोेमबार स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने निर्णय गर्यो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका कारण गठबन्धनको सहमतिविपरीत प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन घोषणा गरेको माओवादी केन्द्रका नेताहरुको बुझाइ छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोड्ने सर्तमा एमसीसी पास गराउन सहयोग गर्ने बताएकै कारण देउवा गठबन्धनको निर्णयविपरीत गएको जानकारहरुले बताउन थालेका छन्।
यद्यपी नेपाली कांग्रेसका नेताहरुले भने कसैको दबाब र आश्वासनमा नभई सरकारले संविधान बमोजिम चुनावको मिति घोषणा गरेको दाबी गरेका छन्। त्यसो त एमाले अध्यक्ष ओलीलाई पनि वैशाखमा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई प्रलोभनमा पारेको आरोप लागेको छ।
नेपाली कांग्रेसकै नेतालाई बल पुग्नेगरी एमालेका नेता महेश बस्नेतले पनि सरकारले कसैको प्रलोभनमा नपरी संविधान बमोजिम चुनाव घोषणा गरेको बताएका थिए।
सत्ता गठबन्धनभित्र आगामी तीनै तहकाे निर्वाचनसम्म सहकार्य गर्ने सहमति भएपनि सत्तारुढ दल नेपाली कांग्रेस भित्रकै संस्थापनइतर समूहले गठबन्धन सरकार गठनका लागि मात्रै भएको भन्दै देउवालाई गठबन्धन तोड्न दबाब दिँदै आएको छ। चुनावको मिति घोषणा भएसंगै दलहरु आन्तिरिक रणनीतिमा जुट्न थालेका छन्।