बुधबार, १७ डिसेम्बर २०२५

भिरालो पहाडमा ४८ घन्टा फँसेका युवाको उद्दारमा ड्रोनदेखि सेनासम्म परिचालन

बिएल संवाददाता

बिएल संवाददाता

नयाँ दिल्ली
File photo
• • •

भारतीय सेनाका आरोहीहरुले खाना र पानीबिना झन्डै ४८ घन्टादेखि एउटा पहाडको दरारभित्र फँसेका एक पैदलयात्रीको उद्दार गरेका छन्। दक्षिणी राज्य केरलाको एउटा भिरालो चट्टानयुक्त पहाडमा बिचल्लीमा परेका युवाको सेनाले उद्दार गरेको हो।

तीन जना साथीहरुसँगै पदयात्रा गर्ने क्रममा २३ वर्षीय आर बाबु चिप्लिएर भिरको दरारमा फसेका थिए। यसअघि तीन ओटा विभिन्न उद्दार समूह उनी भएको ठाउँमा पुग्न नसकेर फर्किएको थियो।बुधबार बिहान, भारतीय सेन अन्ततः उनीसँगको सम्पर्कमा पुगेको थियो।‘उद्दार कार्यमा खटिएको सेना आर बाबु नजिक पुगेर उनलाई पानी र खानेकुरा दिएको थियो। सुरक्षित उपकरण दिएर उद्दार समूहका एउटा सदस्यले पहाडको चुचुरोमा पुयाएको थियो,’ मनोरामा समाचार संस्थाले लेखेको छ।

केरलाको पलाककाद जिल्लाको एक हजार फिट अग्लो कुरुमबाची पहाड भिरालो भूभागका लागि प्रख्यात छ। यसअघि सो राज्यको वन विभागले पैदलयात्रीलाई चुचुरोमा हाइकिङ नगर्न चेतावनी दिएको थियो। पहाडबाट खसेपछि उनी एउटा साँघुरो ठाउँमा फसेका थिए। लट्टी र डोरी प्रयोग गरेर उनलाई तान्न नसकेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए।आफू भएको स्थानबारे जानाकारी दिन र सहयोगको याचना गर्दै बाबुले आफू फँसेको क्षेत्रको फोटो र सेल्फी पठाएका थिए।

उद्दार कार्य बढाएपछि उनी फसेको चुचुरोमा ड्रोन प्रयोग गरिएको थियो। उनलाई उद्दार गर्न मंगलबार तट रक्षकको हेलिकोप्टरले गरेको प्रयास बिफल भएको थियो। उद्दारकर्ताहरुले उनलाई खानेकुरा र पानी दिनसमेत सकेका थिएनन्।हिन्दुस्तान टाइम्सका अनुसार जंगली जनावरले आक्रमण गर्न सक्ने आशंकामा मंगलबार राति उनी फसेको क्षेत्र नजिकै आगो बालिएको थियो। मुख्य मन्त्रीको अनुरोधपछि भारतीय सेनाको एउटा समूह उद्दारका लागि परिचालन गरिएको थियो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!