तीन दिन अघिकाे वर्षापछि माैसममा सुधार हुने अपेक्षा गरिए पनि तराईका जिल्लामा अझै हुस्सु हटेकाे छैन।
पश्चिमी वायुको सामान्य प्रभाव रहेकाे बदलीसँगै हुस्सु/कुहिराे कायमै रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
मौसम पूर्वानुमान महाशाखाको बिहान साढे ९ बजेको तथ्यांक अनुसार हुस्सुका कारण तराईका सबै विमानस्थलको भिजिबिलिटी न्यून छ।
उडानका लागि सामान्यता ३ हजार मिटर भिजिबिलिटी चाहिन्छ। तर, धनगढी विमानस्थलमा भिजिबिलिटी २ सय मिटरमा झरेको छ।
नेपालगन्ज विमानस्थलमा ५ सय, भैरहवामा ५०, सिमरामा २ सय, जनकपुरमा १०० र विराटनगरमा २ सय मिटर मात्र भिजिबिलिटी कायम छ।
महाशाखाका अनुसार पश्चिमी वायुका कारण बदली हुँदा समस्या भएको हो।
दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार दिउँसो कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।