जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ।
माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिएका छन्।
उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनको माघ २१ गते निधन भएको हो।
'पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,' देवीलालले भने, 'गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो।'