अमेरिकाको मेरिल्याण्ड राज्यको संसद अधिवेशनका गतिविधिहरू समेटेर नेपाली भाषामा न्युजलेटर प्रकाशित गर्न थालिएको छ । साप्ताहिक रूपमा प्रकाशन हुँदै आएको नेपाली न्युजलेटर मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ का विधायक डा. ह्यारी भण्डारीले प्रकाशित गरेका हुन् ।
अमेरिकामा नेपाली मूलबाट पहिलो पटक राज्य विधायकमा विजयी डा. भण्डारीले नेपाल र नेपालीका नाममा कीर्तिमान कायम गरेका थिए। अहिले उनले नेपाली भाषामा न्युजलेटर प्रकाशित गरेर अर्को कीर्तिमान कायम गरेका छन् ।
नेपाली भाषामा न्युजलेटर प्रकाशन गर्नुको मूल उद्देश्यबारे प्रकाश पार्दै डेलिगेट डा. भण्डारीले भन्छन्, 'अमेरिकी मूलधारको राजनीतिको बारेमा जान्न चाहने नेपाली जिज्ञासु पाठक र राजनीतिमै प्रवेश गर्न चाहनेलाई संसदीय प्रक्रियाहरूका बारेमा ज्ञान हासिल होस् भन्ने नै यसको मूल उद्धेश्य हो। '
अमेरिकाको मेरिल्याण्ड राज्यको संसद अधिवेशनको गतिविधि सार्वजिक गर्न नेपाली भाषामा साप्ताहिक न्युजलेटर निस्किरहेको छ। नेपाली भाषाको श्रीवृद्धिका लागि योभन्दा ठूलो योगदान के हुन्छ ? न्युजलेटरमा लेखिएको छ, नेपालमा उत्पत्ति भएको दशैं चाडलाई दिवसको रूपमा राज्यव्यापि मान्यताका लागि विधेयक प्रस्तुत गरिदैछ । योभन्दा ठूलो नेपाली संस्कृतिको पक्षपोषण के हुन सक्छ ? स्याबास् डेलिगेट डा. भण्डारी । धेरै नेपालीले बोल्ने मात्र हो, गर्ने केही हैन । त्यसमा पनि अमेरिकाका नेपालीले दिन्छु भन्यो भने नपत्याए हुन्छ, धेरैले सजिलै दिने भनेको धोका मात्र हो । तपाईचाँहि अपवाद बनेर सही, काम गर्दै जानुहोस् ।
कसैले देख्दा सामान्य लागे पनि यी उपलव्धीहरू चानचुने हैनन, मानक उपलव्धी हुन् । अमेरिकाजस्तो देशमा अल्पमतको पनि अल्पमतमा रहेको नेपाली सुमदायबाट राज्य विधायक जित्नु सहज कुरा हैन । कुनै समय लगभग असम्भव लाग्ने यो सपना पहिलोपठक डा. ह्यारी भण्डारीले देखेर पनि साकार पनि बनाए।
डा. भण्डारी सुरूदेखि नै अमेरिका आएर नेपाली अमेरिकन भएपछि यहीको मूलधारको राजनीति गर्नुपर्छ भन्ने बहस पैरवी गर्दै आएका हुन्। अहिले डा. भण्डारी डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य समेत रहेका छन्।