“एक दिन बौवा स्कुल स आवइबखत कहलत् माई ! अर् सबका चाय देलक, अपनेका किया नइदेलक ?” भर्खर स्कुल जान थालेको सानो छोराको प्रश्नले सुनसरीको गढी नगरपालिका–२ औरावानी, ‘डुमराही’ टोलकी मीना मरिकको मुटुमै गाँठो पर्यो । केही दिनअघि गाउँमा भएको छलफलमा मीना छोरालाई डोहोर्याउँदै गएकी थिइन् । कार्यक्रमपछि नजिकैको ‘हरिया’को मिठाई पसलमा सबैले चिया र खाजा खाए । तर, मीना न त आफूले खान पाइन् न त छोरालाई नै खुवाउन पाइन् । मीनाले प्रश्न गरिन्, ‘हामीले त जन्मेदेखि नै भेदभाव भोग्यौँ । बच्चाहरूले यस्तो देखेपछि कसरी अगाडि बढ्न सक्छ ?’
सुनसरीको दुहवीबाट इनरुवातर्फको करिब १५ मिनेटको बस यात्रापछि ‘भमरी’ बजार पुगिन्छ । बजारमा अधिकांश साह (तेली)हरूको मिठाई, चिया–नास्ता, किराना र तरकारी पसल छन् । केही पसल चौधरीहरूका पनि छन् । बजारको दक्षिणतर्फ बीस मिटरको दूरीमा अस्थायी प्रहरीचौकी, औरावानीको पक्की भवन छ र त्यसैको छेउमा छ, पाँच पुस्ताभन्दा अघिका १५ घर डोम परिवार । यो बस्तीलाई ‘डुमराही’ भनिन्छ।