नसक्ने गोरुको ‘हुँकार’ जस्तै भयो यमराजको सपना

‘नसक्ने गोरुको हुँकार’ले काम गर्दैन भन्ने उखान हामीले सुन्ने गरेका छौँ। हुँकार गर्ने गोरुले पहिले अरुलाई तर्साउने काम गर्ने गर्छ तर पछि भाग्ने काम (आत्मसमर्पन) गर्छ। त्यसको हुँकार हुँकारमै रहन्छ र सक्ने गोरुले हुँकार नै गर्दैन भन्ने गाउँघरमा भनाई छ।

यस्तै हुँकार गर्दै दाङको कारागारबाट भागेर आफ्नो १३ वर्ष बाँकी सजाय कटाउने सपना देखेका कैदी यमराज परियारको आज सपना नसक्ने गोरुको हुँकार जस्तै भएको छ। गएको पुस ८ गते बिहीबार ११ बजे छाला सम्बन्धी विरामीको उपचार गर्न भन्दै निस्किएका कैदी परियार दिउँसोबाट सम्पर्क विहिन भएका थिए।

उनी कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भई ०७२ साल भदौ १६ गतेबाट कारागार चलान भएका थिए। उनको ७ वर्ष कैद भुक्तान भइसकेको थियो। बाँकी १३ वर्ष बसेको भए उनको पूर्ण कैद भुक्तान गर्ने समय सकिन्थ्यो र स्वतः स्तन्त्र जीवन जिउन पाउने थिए।

आफ्नी प्रेमिकालाई हत्या गरेर जेल जीवन विताउन बाध्य भएका परियार अब फेरि २० वर्ष कैद सजाय भोग्नुपर्ने अवस्थामा पुगेका छन्। उनी दाङ घोराही कारगारको नाइकेसमेत हुन। उनी नभागेको भए सायद १० वर्ष कैद भुक्तान गरेर पनि छुट्न सक्थे। १० वर्ष कैद भुक्तान भनेको अब ३ वर्षमा उनी स्वतन्त्र हुन पाउने थिए।

‘राष्ट्रपतिद्वारा विभिन्न अवसरमा राम्रो चालचलन भएका कैदीलाई कैद मिनाहा गर्ने नेपालमा प्रचलन छ। सायद उनी त्यसमा पनि पर्न सक्थे र कैद मिनाहामा परेर नभागेको भए अबको ३ वर्षमा उनी छुट्न पनि सक्थे,’ कानुन व्यवसायी गोपाल नेपाल भन्छन्।

तर, अब परियारको कैद साजय थप बढ्नेछ। कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद ठेकिएको कैदी भागेमा पक्रियपछि निजलाई बाँकी कैदको डेढी बढाई सजाय हुने छ भन्ने व्यवास्था रहेको छ। सोही व्यवस्था अनुसार कार्वाही हुने दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले बताए। डेढी बढाउने भनेको परियारको बाँकी कैद भुक्तान गर्ने समय १३ वर्ष थियो। त्यसको आधा बढाएर उनलाई कैद सजाय हुनेछ। १३ वर्ष बाँकीमा डेढी बढाउँदा लगभग फेरि २० वर्ष उनलाई कैद सजाय हुन सक्ने कानुन व्यवसायी नेपाली बताउँछन्।

आर्थिक चलखेल गरेर भागेका परियार एक महिनापछि पक्राउ

परियारले जेलबाट भाग्नका लागि आर्थिक चलखेलसमेत गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। ‘आर्थिक चलखेलबाट केही प्रहरीलाई प्रलोभनमा पारेर भागेको देखिन्छ,’ दाङका प्रहरी प्रमुख एसपी काफ्लेले भने, ‘थप केके भएको रहेछ, पक्राउ गरियो अब अनुसन्धान हुन्छ।’

कारागारको नाइके भएको फाइदा उठाएको उनले बताए। परियार पुस ८ गते उपचार गर्ने भन्दै प्रहरी जवान धनबहादुर चौधरीसँग अस्पतालतर्फ लागेका थिए। तर, उनीहरु अस्पताल नगएर घोराहीको विपीचोकस्थित थकाली भान्सा घर एण्ड लजमा गएर खाजा खानेक्रममा चौधरीको लु ३१ प ११५० नंको मोटरसाइकल लगेर भागेका थिए।

उनी भागेको एक महिनापछि प्रहरीले बाँकेको नेपालगन्ज उपमहानगपालिका १५ जमुनाहा नाकाबाट सोमबार पक्राउ गरेको छ। प्रहरीले जमुनाह नाकाबाट पक्राउ गरेको जनाए पनि उनलाई भारतको लखनउ नजिकबाट पक्राउ गरिएको स्रोतले बतायो।


प्रहरीकै मोटरसाइकल लिएर दाङबाट फरार कैदी भारतमा समातिए


यसैबीच परियार भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरीसहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो।

जेलर परियारलाई केहीदिन हिरासतमा राखेर अनुसन्धान गरिए पनि कारागार विभागका महानिर्देशकको दबाबमा मुद्धा दर्ता नगरी हाजिरी जमानतमा छाडिएको थियो।  कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको थियो।

भाग्न प्रयोग गरेको मोटरसाइकल लमही ६ बेलदमारको जंगलमा एक हप्तापछि बिहीबार फेला परेको थियो। नाइके परियार फरार प्रकरणमा प्रहरी जवानसहित एक युवती पुर्पक्षका जेल चलान भइसकेका छन्।

दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनीसँगै होटलको कोठामा बसेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १० की २२ वर्षीया समी चौधरीलाई पुर्पपक्षका लागि कारागार चलान गर्न आदेश दिएका थिए। उनीहरू सबैलाई कारागारका नाइके यमराजलाई भगाउन सहयोगी भूमिका खेलेको अभियोजनमा मुद्दा दर्ता भएको थियो।

थुनछेक बहसमा घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीसँग १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारुलाई ५ हजार धरौटीमा छोड्न अदालतले आदेश गरेको थियो।

सो प्रकरणमा युवतीलगायत होटलको व्यवस्थापनको काम गरेको आरोप लागेका घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका वडा नं. १६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो।

कारागार विभागले अनुमती नदिएपछि पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने पुस १६ गते नै छुटिसकेका थिए।

प्रकाशित मिति: : 2022-01-24 18:31:00

प्रतिकृया दिनुहोस्