प्रहरीकै मोटरसाइकल लिएर दाङबाट फरार कैदी भारतमा समातिए

File Photo
File Photo

घोराही कारागारबाट भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुुद्धामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई भारतको लखनउबाट पक्राउ गरिएको हो। 

कारागारबाट उपचारको बहानामा त्यहाँबाट निकालिएको र प्रहरीकै मिलेमतोमा भगाएको दाङ प्रहरीको निष्कर्ष थियो। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलीले सिमाबर्ती क्षेत्र भारतबाट समातेको हो।

कारागारका नाइके भागेको प्रकरणमा कारागारका जेलर युुवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरी सहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो।

जेलर परियारलाई केहीदिन हिरासतमा राखेर अनुसन्धान गरिएपनि कारागार विभागका महानिर्देशकको दबाबमा मुद्धा दर्ता नगरी हाजिरी जमानतमा छाडिएको थियो।

छालाको उपचार गर्न भनि कारागारका नाइके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए। तर उनीहरु अस्पताल नगई होटलमा पुुगेको र त्यहीँबाट भागेका थिए।

प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुुई जना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो। कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको थियो।

भाग्न प्रयोग गरेको मोटरसाइकल लमही ६ बेलदमारको जंगलमा बिहीबार फेला परेको थियो। नाइके परियार फरार प्रकरणमा प्रहरी जवानसहित एक युवती पुर्पक्षका जेल चलान भइसकेका छन्।

दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले  कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनीसँगै होटलको कोठामा बसेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १० की २२ वर्षीया समी चौधरीलाई पुर्पपक्षका लागि कारागार चलान गर्न आदेश दिएका थिए। उनीहरू सबैलाई कारागारका नाइके यमराजलाई भगाउन सहयोगी भूमिका खेलेको अभियोजनमा मुद्दा दर्ता भएको थियो।

थुनछेक बहसमा घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीसँग १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारुलाई ५ हजार धरौटीमा छोड्न अदालतले आदेश गरेको थियो।

सो प्रकरणमा युवतीलगायत होटलको व्यवस्थापनको काम गरेको आरोप लागेका घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका वडा नं. १६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो।

कारागार विभागले अनुमती नदिएपछि पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने पुस १६ गते नै छुटिसकेका थिए।

प्रकाशित मिति: : 2022-01-24 18:35:00

प्रतिकृया दिनुहोस्