ललितपुरको धापाखेलमा एक पठाओ राइडर लुटिएका छन्।
शुक्रबार राति काठमाडौंको कोटेश्वरबाट धापाखेल पुर्याएर पठाओ राइडरलाई लुटिएको हो।
उदयपुरकाे गाईघाट घर भई हाल काठमाडौंमा बस्दै आएका पठाओ राइडर प्रविन राईलाई सुमन तामाङ र मनराज राईले हात बाँधेर लुटपाट गरेको महानरीय प्रहरी वृत्त ललितपुरका प्रमुख डिएसपी दिनेश घिमिरेले बताए।
उनका अनुसार पठाओ राइडर प्रविन राईलाई सुमन तामाङले काठमाडौंको कोटेश्वरबाट ललितपुरको धापाखेल पुर्याइदिन आग्रह गरेका थिए।
तामाङले सामान्य रुपमा पठाओको विधि पुरा गरी लोकेसन हालेका थिए। त्यसपछि प्रविन राईले तामाङलाई धापाखेल पुर्याए।
थापाखेलमा पुगेपछि तामाङले अर्को साथी मनराज राईलाई बोलाएर २ जना मिलेर लुटपाट गरी राइडरको मोटरसाइकल समेत लुटेर फरार भएका थिए।
दुवै हात बाँधिएको अवस्थामा प्रविनलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि घटनास्थल पुगेको प्रहरीले प्रविनलाई अस्पताल पुर्याएर उपचार गरी अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले लुटपाट गर्ने तामाङसहित दुवै जनालाई काठमाडौंको चन्दागिरिबाट पक्राउ गरेको छ।
लुटेको मोटरसाइकल बेच्ने क्रममा प्रहरीले तामाङ र राईलाई पक्राउ गरेको थियो। पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।