नेपालमा केही सातादेखि कोरोना भाइरस संक्रमण दर तिव्र गतिमा बढिरहेको छ। संक्रमित हुनेको संख्या काठमाडौँ उपत्याकामा सबैभन्दा धेरै रहेको छ। कोभिड– १९ सँगै नयाँ भेरिण्ट ओमिक्रोनको पनि संक्रमण दरमा वृद्धि भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ।
पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या दैनिक दोब्बर बढिरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ। मन्त्रालयका अनुसार दैनिक संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौँ उपत्याकाभित्र रहेका छन्।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर संक्रमणको उच्च जोखिममा छन्। उपत्यकाका अस्पतालका चिकित्सक र नर्सिङ कर्मचारीमा समेत संक्रमण देखिएको छ। जसले गर्दा स्वास्था प्रणाली गम्भीर समस्या उत्पन्न हुन सक्ने जनस्वास्थ्य विज्ञ बताउँछन्।
दोस्रो लहरको कोरोना महामारीमा चरम अक्सिजनको अभाव भाेगेका उपत्याका धेरैजसो अस्पतालले महामारीको सामनाको लागि पूर्वतयारी गरिहेका छन्। वीर अस्पतालले महामारीको पछिल्लो अवस्था हेरेर तयारीमा जुटेको बताएको छ।
अस्पतालमा पााँच सय बेड, अस्पतालको आफ्नै पीएसए प्लान्ट, १ सय ४० वटा सिलिन्डर भर्न सकिने २० टनको क्षमताको लिक्वीट अक्सिजनको व्यवस्था रहेको वीर अस्पतालका उप–निर्देशक डा. प्रज्वल श्रेष्ठले बताएका छन्।
‘उपचार र उपकरणमा कुनै समस्या हुन नदिन जनशक्ति अभावकाबीच करारमा नर्स र मेडिकल अफिसर ल्याउने तयारीमा छौँ,’ डा. श्रेष्ठले भने।
त्यस्तै कोरोना महामारीको दोस्रो लहरमा उपचार धान्न नसक्ने अवस्था रहेको उपत्याकामा अहिले संक्रमणको दरमा बढी चाप नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुर अधिकारीले बताए।
‘अहिले संक्रमणको बढी चाप नभएको र व्यवस्थापनमा समस्या नरहेको मन्त्रालयको रिपोर्ट छ। तथापि संक्रमणको अवस्था भयावह भएकमा उच्चस्तरीय समिति बनाएर उपचार गर्ने पूर्वतयारी रहेको मन्त्रालयको दाबी छ,’ डा. अधिकारीले भने।
तर, उपत्याकाका स्थानीय तह भने काेराेना महामारी नियन्त्रणकाे लागि पूर्व तयारीमा नजुटेकाे स्थानीयकाे गुनासाे रहेकाे छ।