पुरानो शैली, पुरानै विचार र पुरानै नेतृत्वबाट मुक्ति सम्भव नदेखिएकाले अब दलित आन्दोलनको ‘प्याराडाइम सिफ्ट’ अपरिहार्य छ
जातीय उत्पीडनको जाँतोमा पिसिएकाहरूको मुक्तिका खातिर केही गर्ने लक्ष्य र अठोटसाथ म स्वदेश फर्केको एक वर्ष पुग्यो। छुवाछुत र जातीय घृणा हटाउने स्पष्ट भिजन र विचार मैले लन्डनमै बनाएको हुँ, जतिखेर म किंग्सटन विश्वविद्यालयमा रिसर्च फेलो थिएँ। पूर्वनिर्धारित योजनाअनुसार छोटो अवधिमै मैले पूर्वका झापा र ताप्लेजुङदेखि सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरासम्म गरी २६ जिल्लाका दलित बस्ती पुगेको छु। हजारौँ उत्पीडितसँग छलफल र अन्तरक्रिया गरेर त्यसबारे लेखेको छु। राजनीतिक वा व्यवस्था परिवर्तनले समाज निकै परिवर्तित र सुदृढ हुँदै गएको भए पनि छुवाछुत र जातीय उत्पीडन भने अझै कायमै रहेको पाएँ।
आज हाम्रो व्यथाको मूल स्रोत धार्मिक र सांस्कृतिक परम्परा हो। लोकतन्त्रको पारिलो घाम हाम्रो जीवनमा अझै उदाएको छैन, त्यसलाई शास्त्र र संस्कारले छेकेको छ। यो दैनिक देखेको, भोगेको सत्य गाउँघरमा घाँसदाउरा गर्ने, हलोकोदालोसँग खेल्ने दलितले सजिलै बुझे। तर, सहरमा व्यवसाय गर्ने, पार्टीमा सक्रिय हुने सुटेडबुटेड कतिपय दलितले भने मेरो विचार स्विकार्न अफ्टेरो माने। पक्कै पनि कथित उपल्ला जातिका नेताको गलत प्रशिक्षणको नतिजा हो त्यो।
धेरै दलित अगुवा कम्युनिस्ट पार्टीमा आबद्ध छन्। उनीहरू जातीय उत्पीडन र दमनको मूल स्रोत ‘दलाल पुँजीवाद’ ठान्छन्। जडसूत्रवादीहरू यति पनि ख्याल गर्दैनन् कि पुँजीवाद आउनुभन्दा धेरै पहिल्यै मल्ल, शाह र राणाशासकले ब्राह्मणको सुझाबअनुसार हिन्दू नीतिबमोजिम सामाजिक संरचना निर्माण गरी शूद्र भनिएका जातिलाई धुलोपिठो बनाएका हुन्। बरु खुला बजारतन्त्रले धेरै दलितलाई बालिघरे शोषणबाट मुक्त गरी सुन र सुट व्यापारी बनाएको छ। कतिपय गरिब दलित आफ्नो परम्परागत सीप बेचेर हुनेखाने बन्न सफल भएका छन्। अर्थात्, पुँजीवादले मुक्तिको बाटो खोलिदिएको छ।