पार्टीबाट अलग हुन सक्ने तर राप्रपा नफुटाउने कमल थापाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन्। 

बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा कदापि नफुटाउने भनाइ सार्बजनिक गरेका छन् ।

आफू निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नभएको भन्दै उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिभन्दा माथि  बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताएका छन्। 

विगतमा आफूले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र 'सिनो' बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीतिभन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप पनि थापाले लगाएका छन् ।

केही समय पहिला सम्पन्न राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अप्रत्यासित रूपमा पराजित भएका थापाले पराजयलाई सहज रूपमा लिन सकिरहेका छैनन् ।  आफ्नो पराजयमा निर्मल निबास लागेको आरोप त्यसयता निरन्तर दोहोर्षाइरहेका छन् । 

उता, निर्मल निबासका तर्फबाट भने त्यो आरोपको खण्डन गर्दै त्यसमा आफ्नो कुनै भूमिका नरहेको स्पष्टिकरण दिइस्केको छ । 

थापा भने निर्वाचनपछि निर्वाचित अध्यक्षलाई सघाउनेभन्दा पनि असफल बनाउने प्रयत्नमा समानान्तर अभ्यास गरिरहेका छन् । पदविना बस्नै नसक्ने चरित्रका रूपमा स्थापित थापाको यो बेचैनीलाई त्यही श्रृंखलाको पछिल्लो कडीका रूपमा हेरिएको छ । 

प्रकाशित मिति: : 2022-01-06 22:32:00

प्रतिकृया दिनुहोस्