माओवादी आफैँमा युवा पार्टी हो, मुलुक माओवादीकै एजेण्डामा चलेको छ : वीरेन्द्र बस्नेत [भिडियाे]

कमल प्रभात

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नम्बर १ कमिटी सदस्य हुन्, वीरेन्द्र बस्नेत। माओवादी जनयुद्धदेखि सक्रिय राजनीतिमा लागेका उनी पार्टीमा ऊर्जाशिल युवा नेताका रुपमा परिचित छन्।

उत्पीडित नेपालीको मुक्तिको लागि भन्दै जनयुद्धमा होमिएका उनले ४३ महिनासम्म जेल जीवन समेत बिताउनु परेको थियो। हाल प्रदेश १, (झापा)मा बसेर व्यवसायसँगै राजनीतिक गतिविधि गरिरहेका छन्, उनी। उनी हालै सम्पन्न माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा युवाको प्रतिनिधित्व गर्दै सक्रिय रुपमा प्रस्तुत भए।

माओवादीले यो महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी बनाउँदा समानुपातिक–समावेशीताको कुरालाई कार्यन्वयन गरेकोप्रति उनी खुशी छन्। तथापि अझै पनि पार्टी नेतृत्वमा ४० वर्ष कम उमेरका युवा सहभागी हुन बाटो नखुलेको उनको गुनासो छ। सम्रग माओवादी राष्ट्रिय महाधिवेशन र युवाको प्रतिनिधित्वका विषयमा बिएल नेपाली सेवाका लागि कमल प्रभात विकले गरेको कुराकानी प्रस्तुत छः

समग्रमा माओवादीको राष्ट्रिय महाधिवेशन कस्तो रह्यो ?

विशेष गरी महाधिवेशन दुई वटा कुरामा केन्द्रित हुन्छ, पार्टी कुन बाटो जाने र कस्तो नेतृत्व आउने। अझ यो बीचमा मुख्य चार पार्टीकाे महाधिवेशन भए हामी अन्तिममा पर्‍यौं। यी सबै महाधिवेशन आम नेपाली जनताले नजिकबाट नियालिरहनु भएको छ। अरु पार्टी विशेष गरी नेतृत्वको बारेमा बढी केन्द्रित भए। महाधिवेशन भनेको नेतत्व चयन गर्ने भन्ने तरिकाले अगाडि बढे। त्यही कुरा जनमानसमा स्थापित भयो। तर, महत्वपूर्ण कुरा पार्टीले लिने विचार के हो त भन्ने हो। आगामी गन्तव्य कस्तो हुने भन्ने कुरामा हामी केन्द्रित भयौँ। अन्य तीन वटा पार्टीले गरेको महाधिवेशनमा नेतृत्व छनौट गर्ने कुरा र चुनाव लड्ने कुरा भयो। तर, हाम्रोमा त्यो भएन।

हामी पुस ११ देखि १८ गतेसम्म निरन्तर महाधिवेशनमा रह्यौँ। बाहिर महाधिवेशनमा विवाद भएर लम्बियो, टुङ्गिएन भन्ने जस्ता कुरा आएका छन्। तर, विशेषगरी हाम्रो महाधिवेशनले एउटा कुरा टुङ्ग्यो। हाम्रो बाटो के हुने, हाम्रो राजनीतिक लाइन कस्तो हुने भन्ने कुरा हामीले टुङ्ग्याएका छौँ। सँगै नेतृत्व पनि हामी टुङ्ग्याउने छौँ।

यो महाधिवेशनले पार्टीमा ल्याएको नयाँपन के हो?

०६२/६३ को जनआन्दोलन पश्चात वा संविधान निर्माण पश्चात जुन राजनीतिक व्यवस्था स्थापना भएको छ, त्यो व्यवस्थाभित्र पनि थुप्रै समस्याहरु हामीहरुले देखेका छौँ। त्यो व्यवस्था हिजोको समयमा ठिकै थियो। तर, पूर्णरुपमा समस्या समाधान गर्ने किसिमको नभएकोले आज हाम्रो महाधिवेशनबाट हामीले के गरेका छौँ भने यो व्यवस्थालाई परम्परागत व्यवस्थामा लैजाने प्रयत्न भइरहेको छ। हामीले के भनेका छौँ भने अब नेपालको कार्यकारी प्रमुखको निर्वाचन प्रत्यक्ष रुपमा हुनुपर्छ। पूर्ण समानुपातिक प्रतिनिधित्वको आधारमा संसद खडा हुनुपर्छ। यसरी संसदीय व्यवस्थालाई परिमार्जन गरेर दिगो व्यवस्थाको रुपमा अगाडि लिएर जानुपर्छ। हाम्रो पार्टी पंक्तिलाई उत्पादन कार्यमा जोड्ने सँगै संगठनको मामिलामा हामी युद्धबाट आएको पार्टी हुनाले (तोक्ने प्रथाबाट आएको पार्टी) अब हामीले थोरै, धेरै निर्वाचन प्रणालीबाट संगठन बनाउने भन्ने कुरा पनि छ। त्योसँगै हामीले अर्काे महत्वपूर्ण कुरा के गरेका छौँ भने हाम्रो पार्टीको केन्द्रीय समितिलाई समानुपातिक र समावेशीलाई पूर्णरुपले कार्यन्वयन गर्ने प्रयास गरेका छौँ। सोही अनुसार हामीले यो महाधिवेशनमा ५० प्रतिशत खुल्लाबाट र ५० प्रतिशत समानुपातिकबाट मनोनित गरेका छौँ। मेरो विचारमा यी कुराहरु नयाँ हुन्।

केन्द्रीय समितिमा युवा पुस्ताको सहभागीता कस्तो रह्यो ?

माओवादी पार्टी आफैँमा युवा तथा नयाँ पार्टी हो। नेपालमा जति पनि नयाँ एजेण्डा आएका छन्। जस्तोः युवा, महिला, दलित, आदिवासी, जनजातिको विषयमा कुरा गर्नुहोस्। यी सबै एजेण्डाहरु मैदानमा ल्याउने माओवादी नै हो।

व्यक्तिगत रुपमा को पर्‍यो/परेन भन्ने कुरा फरक भयो तर यो पटक हाम्रो पार्टीमा युवाहरु आउने कुरामा त्यस्तो सकस भएन। जनयुद्धमा लाग्दा धेरै साथीहरु २०/२२ वर्षको हुनुहुन्थ्यो। त्यसैले यहाँसम्म आउँदा ४० वरिपरीका साथीहरुको बाहुल्यता बढी छ। त्यसैले युवाको सवालमा पार्टीले राम्रै तरिकाले ल्याएको छ। सँग–सँगै केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सवालमा ४० वर्षभन्दा कम उमेरका मानिसहरुलाई ल्याउने कुरा थियो। त्यो कुरामा म सन्तुष्ट छैन। जति मानिसहरु ल्याउनु पर्थ्याे, जस्तो  साथीहरु ल्याउनु पर्थ्याे अथवा आउने बाटो खुल्ला गर्नुपर्थ्याे त्यो भएन। यो कुरालाई पनि पार्टीले आगामी दिनमा ख्याल गर्नुपर्छ। मलाई आशा के छ भने अहिले केन्द्रीय समितिमा १० प्रतिशत कमको नामावली प्रकाशन भएको छ। अरु १५ प्रतिशत केन्द्रीय समितिले फेरि मनोनित गर्न पाउने छ। यसमा नमिलेका कुराहरु पनि मिल्ने छन् भन्ने विश्वास छ।

पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोहोरिनु तपाईं जस्ता युवाको चाहाना अनुरुप हो ?

पार्टीले लिने विचार महत्वपूर्ण कुरा हो। एउटा नेतृत्वले लेखेको दस्तावेज पास हुने र नेतृत्व गर्न अर्काे आउने भन्ने हुँदैन। युवाले पार्टीमा नेतृत्व गर्छु भन्यो भन्दैमा शरीर खडा गरिदिएर मात्रै हुँदैन। म यो पार्टीलाई यो ढङ्गले अगाडि बढाउछु भन्ने प्रस्ताव चाहिन्छ। दस्तावेज चाहियो र त्यस उपर कार्याकर्ताहरुको विश्वास हुनुपर्‍यो। यो दस्तावेजबाट पार्टी आगडि बढ्न सक्छ भन्ने लेख्ने हाम्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ। हाम्रो पार्टीमा एउटा मात्रै दस्तावेज पेस भयो। जुन अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभयो, त्यही पास भयो भनेपछि अब स्वतः रुपमा कहाँ जान्छ भने जसको दस्तावेज पास भयो उसैमा। अब एक जनाले दस्तावेज बनाउने अर्कोले कार्यन्वयन गर्ने भन्ने त हुँदैन। पार्टीको च्ययरम्यान भनेको त पार्टीको नीति बनाउने कार्यन्वयन गर्ने व्यक्ति हो। त्यसैले अध्यक्षमा प्रचण्ड दोहोरिनु भएको होइन, उहाँको विचार यो महाधिवेशनमा पास भयो र स्वाभाविक रुपले उहाँ नेतृत्वमा आउनुभयो।

प्रचण्ड अध्यक्ष हुँदा तपाईं खुशी हुनुहुन्छ ?

जनयुद्धको सफल नेतृत्व गरेको, संविधान बनाउने, समानुपातिक–समावेशिता लागू गर्ने, गणतन्त्र स्थापित गर्ने नेता, नेपाली जनतालाई आफ्नै हातले संविधान लेख्ने अधिकार प्रदान गर्ने आन्दोलनको लिडरशिप हाम्रो पार्टीको अध्यक्ष हुने कुरामा त हामीले मात्रै होइन सारा नेपालीले गर्व गर्नुपर्छ।

माओवादीमा पार्टीको नेतृत्व गर्ने प्रचण्डबाहेक अरु नेता छैनन्, हो ?

यो पटकलाई चाहिँ हुनुभएन। निर्विकल्प त दुनियाँमा के हुन्छ र, प्रचण्डको पनि विकल्प हुन्छ। त्यो आउँदै छ। जन्मिदै पनि छ। समय भएपछि त्यो त भइहाल्छ।

अध्यक्ष प्रचण्डबाट अबको तपाईंको अपेक्षा के हो ?

पहिलो कुरा त आजको जति पनि एजेण्डाहरुमा मुलुक जसरी अगाडि बढिरहेको छ, यी एजेण्डाको असली जन्मदाता माओवादी हो। माओवादी अहिले र्‍याङ्किङ्मा तेस्रोमा छ। त्यसैले अबको नेतृत्वले यो पार्टीलाई नेपालको पहिलो पार्टी बनाउन जरुरी छ। फेरि त्यो कुरा त्यत्तिकै बन्दैन। मुख्य कुरा भनेको हामी कुन वर्गको लागि लडेका थियौँ, कुन वर्ग बनाउनको लागि हाम्रो पार्टी लडेको हो, त्याे कुरालाई ख्याल गर्नुपर्छ। यो पटकको महाधिवेशनबाट हामीले जसरी समानुपातिक रुपमा अगाडि लिएर जानेका कुरा गरेका छौँ, यहाँबाट हामी समेट्छौँ। तमाम युवाहरु विदेशमा गएर काम गर्नुपर्ने परिस्थित जुन छ त्यसलाई स्वदेशमै रोगजारी प्रदान गर्ने अभियानको नेतृत्व प्रचण्डले गर्नुपर्छ। खाली राजनीतिका कुराकानी गरेर, वादहरु तेर्स्याएर केही हुनेवाला छैन। युवाहरुले बुझ्ने, काम नागरिकले जान्ने गरी, आँखाले देखिने गरी हाम्रो पार्टीले काम गर्नुपर्छ।

प्रचण्डले भनेको जस्तै के युवा समूह उत्पादनशिल कुरामा जोडिएला ?

जाडिनु पर्छ, हामी सबै जाेडिनुपर्छ। म पनि जाेडिएकाे छु। पार्टी युनिटलाई पनि उत्पादनमा जोड्ने कुरा छ। यो एउटा समाजवादी मोडेल हो। गर्न सकेको खण्डमा यो अतिउत्तम कुरा हो। सँगै व्यक्ति पनि उत्पादनशिल कुरामा नजोडिने हो भने उसले सोही ढङ्गले सामाजिक, राजनीतिक कार्य अगाडि बढाउन सक्दैन। खान, लगाउन पर्‍यो भने कहाँबाट आउँछ त?

प्रकाशित मिति: : 2022-01-05 18:18:00

प्रतिकृया दिनुहोस्