नेपालमा नयाँ वर्ष वैशाख १ गते मनाइन्छ। तर, प्रायश नेपालीले वर्षमा पाँच पटक नयाँ वर्ष मनाउने गर्दछन्।
नेपालीलाई केही चाहिँदैन्, कसैले आज त नयाँ वर्ष हो मात्र भने पुग्छ। ऊ नयाँ वर्ष मनाउन तयार भइहाल्छ। जसलाई याद पनि नहुन सक्छ उसले एक वर्षमा कति पटक नयाँ वर्ष मनायो।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर बिहीबार पुष १५ गते आफ्नो नयाँ वर्ष रूपमा तमु ल्हाेसार भव्य रुपमा मनाए। गुरुङ समुदायको नयाँ वर्ष सकियो। अनि त्यसको एक दिनपछि सुरु भयो अंग्रेजी नयाँ वर्ष अर्थात् ह्याप्पी न्यु इयर २०२२।
प्रत्येक वर्ष तिहारको छेको पारेर नेवार समुदायहरुले ‘न्हुँ-दया भिन्तुना’ (नयाँ वर्ष) मनाउँछन्। त्यो बेला नेवार समुदायमा छुट्टै रौनक हुन्छ। त्यस्तै, अबको २९ दिनमा तामाङ्गहरुको नयाँ वर्ष सोनाम ल्होसार आउँदैछ। सोनाम ल्होसार पनि तामाङ्ग समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् र त्यस दिन सरकारले सार्वजनिक बिदा पनि दिने गर्दछ।
त्यस्तै, अबको १ सय ३ दिनमा फेरि नेपालीहरुको विक्रम संवत २०७९ को नयाँ वर्ष सुरु हुन्छ। विदेशमा त नयाँ वर्ष वर्षमा एकपटक मात्र मनाए पुग्छ भने हाम्रो देशमा त कम्तिमा पाँच पटक नयाँ वर्ष मनाइन्छ। एक वर्ष अर्थात् ३६५ दिनमा पाँच पटकसम्म नयाँ वर्ष त् मानाउछौँ हामी। तर, ती नयाँ वर्षहरुले के सिकायो ?
वर्षको पाँच पटकसम्म नयाँ वर्ष मनाउने दैशले त देशको विकास पनि पाँच गुणा छिटो गर्न सक्नुपर्ने हो। कि एक वर्षमा पाँच पटक नयाँ वर्ष भन्दै रमाइलो मात्रै गर्ने हो ? यो कुरा हामीले हाम्रा नयाँ पुस्तालाई प्रष्ट पार्न जरुरी हुन्छ।
उनीहरुलाई नयाँ वर्षको अर्थ, महत्व र उपयोगीता सिकाउन जरुरी पर्दछ। यदि नयाँ पुस्तालाई नयाँ वर्षको अर्थ, महत्व र उपयोगिता सिकाउन सकेनौं भने पात्रोको पाना पल्टने र मिति लेख्दा अंक परिवर्तन हुने बाहेक नयाँ वर्षले खासै केही संस्कार-संस्कृति दिन सकिदैन।
कुनै बेला नेपालका मल्ल राजाले उनको राज्यमा प्रत्येक घरमा चुलो बले नबलेको हनुमान ठोकाको नौ तले दरबारबाट हेरेर थाहा पाउँथे रे। अनि छानाबाट धुवाँ ननिस्केको घरमा बुझ्न पठाउँथे रे।
त्यसाे त आजको नेपालमा कसैको चुलोमा आगो बलोस् या नबलोस तर, नयाँ वर्षको रौनक त् हुन्छ–हुन्छ। वर्षमा आधा दर्जनभन्दा बढी समय नयाँ वर्ष मान्न खर्चिन्छौँ। पश्चिमाको संस्कार, संस्कृति पछ्याउँदै गर्दा कतै हामीले आफ्नो संस्कृति त् भुल्दै गएका छैनौँ ?
इसाई धर्मावलम्बीको महान् पर्व हो– क्रिसमस। तर, नेपालीहरुले जुनसुकै पर्वहरु चाहे क्रिसमस चाहे नयाँ वर्ष, ल्होसार नै किन नहोस सबै पर्वहरु धुमधामका साथ मनाउने गरिन्छ। नेपालले जे आउँछ मज्जजाले पचाउँछ। यसलाई रमाइलोका निम्ति, फेशन, कतिपय विदेशी सङ्घसंस्थाका साथीसँग सँगै काम गरेको आधारमा उनीहरूको सम्मानको लागि पनि मनाइने गरिन्छ। जे-जस्तो होस्, यी सबै बहाना सबैको संस्कार र संस्कृतिसँग जोडिएर आएका हुन्छन्।
तर, आज भोलि नेपालका हाम्रा चाड-पर्व र मेला भने हामीलाई फिका–फिका लाग्ने गरेका छन्।
गोठालालाई पाडो पाए पनि पाडी पाए पनि बिगौतीको ध्यान भने झैँ हिन्दु, क्रिश्चियन, जे भए पनि जस्तो र जस्को जुन पर्व भए पनि मनाउने तरिका त लगभग उस्तै। एउटा होटलमा बसेर टेबल भरी विभिन्न खानाका परिकार, विदेसी ‘ब्रान्डेट’ रक्सी पिउने। प्रत्येक वर्ष नयाँ वर्ष र ‘सेलिब्रेसन’का नाममा हुने खर्च (पैसा र समय) उत्पादनमूलक ठाउँमा लगाउन सकियो भने त्यसको प्रभाव दर्शाउन आवश्यक छ।
अंग्रेजी नयाँ वर्षकाे दिन अर्थात् जनवरी १ मा नेपालमा ढाका टाेपी दिवस मनाइन्छ। तर, नयाँ वर्षकाे शुभकामना साटा–साट गरिरहेका धेरैलाई यसबारे थाहा पनि छैन हाेला।
त्यसैले अब हाम्रा पुस्तालाई असल संस्कार सिकाउन आवश्यक छ। रमाइलोको लागि मात्र होइन संस्कार र संस्कृति बचाउने कुरा पनि जानकारी गराउन आवश्यक छ।
बहुलजाति भएको देश नेपालमा आ–आफ्नै रहनसहन र परम्परा छ। यो कसैको प्रभाव र दबाबमा परिवर्तन हुनुहुँदैन। त्यसका लागि अबका पुस्ताले असल संस्कार पाउनुपर्छ।
परम्पराका धनी हामी नेपालीले परम्परा बिर्सेर रमाइलोका नाममा अब आउने पुस्ताले दु:ख पाउने काम कदापी गर्नुहुँदैन। अरूका परम्परालाई समर्थन गरे पनि हामीले हाम्राे संस्कार र परम्परा बिर्सनु हुँदैन। २०२१ जे जस्तो रहे पनि सबैलाई एक मुष्टमा अंग्रेजी नयाँ वर्ष २०२२ को सबैलाई शुभकामाना साथमा अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवसको पनि शुभकामना!
आफ्नो संस्कार संस्कृतिलाई माया गरौँ।