मार्छन् भन्ने डरले भागेँ, भाेकभाेकै दिन कटाएँ: चन्द्रे कामी

File Photo
File Photo

अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्रे कामी भेटिए


पाँच मंसिरमा भागेर अन्तरजातीय विवाह गरेका चन्द्रे कामीकाे बारेमा २९ मंसिर सम्म कसैलाई थाहा थिएन। जब माइती पक्षले एकाएक गाउँ नै बन्धक बनाई छापामार शैलीमा चन्द्रे र उनले भगाएकी रमिला मल्ल (सुन्तली)लाई तानेर लगे, उनी बेपत्ता भएका खबरहरू आउन थाले। 

प्रहरीले बुधबार बिहान बिहान ८ बजेतिर खार्पुनाथमा भेटायाे। माइनस पाँच भन्दा कम तापक्रम भएकाे चिसाेमा उनकाे खुट्टामा चप्पल थिए। शरीरमा पातलाे मधुराे रातो-कालो रङको ज्याकेट, निलो ट्रयाक थियाे।

चन्द्रेलाई केटीका माइती पक्षले बेपत्ता पारेको परिवारको आरोप थियो। मुगुका प्रमुख डीएसपी सुवास हमालका अनुसार २९ मंसिरमा मध्यराति सुन्तलीका बुवा वीरबहादुर मल्लसहित १३ जनाको समूहले सर्केगाड-१ जैरस्थित घरैबाट सुन्तलीलाई लगेको मुगु प्रहरीले पुष्टि गरेकाे थियाे। 

तर केटीका बुवा वीरबहादुरले चन्द्रेलाई घरमै छोडेर सुन्तलीलाई मात्र ल्याएको दाबी गरेका थिए। जुन चन्द्रेकाे बयानले गलत सावित गरिदिएकाे छ। प्रहरीसँग चन्द्रेले सुन्तलीको गाउँबाट आएको समूहले आफूलाई कुटपिट गर्दै घरबाट पर लगेर बाटोमै छोडेको बताएका छन्। 



‘बेपत्ता पारिएकाे एक हप्तासम्म चन्द्रे नभेटिनु रुकुम घटनाकाे पुनरावृत्ति हुन सक्छ’


खार्पुनाथ गाउँपालिकामा खटिएको प्रहरीकाे टोलीले सोधिखोजी गर्दा उनले आफ्नो नाम बताएका थिए। 

प्रहरी सहायक निरिक्षक जयानन्द भट्टकालाई पहिल्यै सिमिकोटस्थित जिल्ला प्रहरी कार्यालयबाट चन्द्रे कामी नामको युवक बेपत्ता छन्। कसैमा शंका लागे सोधीखोजी गरी यता खबर दिनू भन्ने निर्देशन थियाे।

साेही बमोजिम यान्चुबाट बिहान सवा ७ बजे प्रहरीकाे टाेली गस्तीमा निस्केको थियो। उनीहरूले सवा ८  बजे कर्णाली तीरको बाटो हुँदै एक युवक हिँडिरहेको देखे। युवकले झोला बोकेका थिएनन्। गाउँमा नयाँ देखिएकाले प्रहरीको ध्यान ती युवकतिर पर्‍याे। 'मैले सोधिखोजी गर्दा उनले आफू धनञ्जय कामीको २० वर्षे छोरा चन्द्रे कामी भएको बताए,' असई भट्टले भने, 'अनि हामीले सँगै लिएर यान्चु आयौं। उनी बाेलचाल गर्न सक्ने सामान्य अवस्थामै भेटिएका हुन।'

युवक रित्तै भएकाले यान्चुको प्रहरी टोली उनको पहिचानबारे अझै दोधारमा थियो। 'उनले आफू भोकै रहेको बताए। हामीले चाउचाउ खान दियौं। लगत्तै खार्पुनाथ प्रहरी चौकीलाई बुझायौं,' उनले थपे, 'असई भट्टले भने। उनका अनुसार यान्चुबाट खार्पुनाथ चौकी एक घण्टाको दूरीमा छ।'

लगत्तै खार्पुनाथ प्रहरी चौकीले चन्द्रेलाई सदरमुकाम सिमिकोटस्थित जिल्ला प्रहरी कार्यालय पठायो। जिप्रका हुम्लाका प्रमुख डीएसपी हेरम्भ शर्माले भेटिएको युवक चन्द्रे कामी नै भएको पुष्टि गरे।

दिउँसो सिमिकोट ल्याइपुर्‍याएलगत्तै प्रहरी निरीक्षक दानसिंह भण्डारीले चन्द्रेसँग सोधपुछ गरेका छन्। प्रहरीले सुन्तली र उनको बुवा वीरबहादुरलाई पनि जिल्ला प्रहरी कार्यालय झिकाउने भएको छ। मध्यराति चन्द्रेको घर आएका लिब्रुका मानिसहरूको खोजीकार्य पनि भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।


अझै भेटिएनन् चन्द्रे कामी, आलटाल गर्दै प्रहरी


उनले चन्द्रे कामीसँग लिएकाे बयान जस्ताकाे तस्तै– 

बुधबार (मंसिर ९) राति साढे १२ बजेतिर उनीहरू (केटीका बुवासहितकाे समूह) हाम्राे घरमा आए। सुन्तली लिन आएका रहेछन्। ममाथि कुटपिट पनि गरे। सुन्तलीसँगै मलाई पनि घरबाट लिएर गए। 

अलि पर लगेपछि मलाई बाटोमै छोडे। उनीहरू फर्केर मलाई फेरि आक्रमण गर्छन् जस्तो लाग्यो। त्यसैले म घरतिर नआएर छान्दा जंगलतिर गएँ।

पुस १, २ र ३ गते गाउँकै उत्तरमा पर्ने छान्दा जंगलमा बसेँ। यहाँ मैले पानीबाहेक केही खान पाइनँ। ४ र ५ गते म गुसा जंगल पुगेँ। याे जंगल लेकमा पर्छ। यहाँचाहिँ स्याउकाे बाेट भेट्टाएँ र केही स्याउ खाएर चित्तन बुझाएँ। 

हिजाे राति सुनखाडामा बास बसेँ। बिहान ८ बजे यान्चुमा पुलिसले चाउचाउ सुप खान दिए। 

यसरी माइती पक्षका डरले  बेपत्ता हुन पुगेका चन्द्रे भेटिनु सुखद संयाेग भएकाे र अबका दिनमा उनीहरुकाे प्रेमले सार्थकता पाउनुपर्ने मुगुका रंगकर्मी हिरा बिजुलीले बताए।

'धेरैले याे उमेर नपुगेकाे विवाह भनेका छन्। तर कर्णालीमा विवाह उमेर नपुगेकाे उमेरमा उनकाे मात्रै हाेइन,' उनले भने, 'एक पटक ग्राउन्ड जिराे रिपोर्टिङ गराैं त्यसपछि चन्द्रे र सुन्तलीकाे प्रेम र विवाह दुवै स्वभाविक लाग्छ।'

प्रकाशित मिति: : 2021-12-23 07:44:00

प्रतिकृया दिनुहोस्