‘बेपत्ता पारिएकाे एक हप्तासम्म चन्द्रे कामी नभेटिनु रुकुम घटनाकाे पुनरावृत्ति हुन सक्छ’

आज ठिक एक साता भयाे हुम्लाकाे सर्केगाड गाउँपालिका- १ जैरका चन्द्रे कामीलाई मुगुकी रमिला मल्लसँग अन्तरजातीय विवाह गरेकै कारण केटी पक्षकाले अपहरण गरी बेपत्ता पारेकाे। फिल्मी शैलीमा केटीका बुबा वीरबहादुर मल्लसहित गएकाे १३ जनाको टोलीले पूरै गाउँलाई बन्धक बनाई अपरहरण गरी बेपत्ता पारेका हुन।

जिल्ला प्रहरी कार्यालय मुगका प्रमुख डीएसपी सुवास हमालका अनुसार सुन्तलीलाई केटी खाेस्न र केटालाई अपहरण गर्न जैर गएकाहरु कोही पनि गाउँमा भेटिएका छैनन्।

हाल सुन्तली र उनका बुबा वीरबहादुर मल्ल प्रहरीको सम्पर्कमा छन् तर चन्द्रेको अवस्था अज्ञात छ। अपहरण गर्नेहरु सबै भागेकाे र मुख्य अपहरणकारीलाई प्रहरीले समात्न नसकेको घटनालाई सरुदेखि नै गम्भीर रुपमा लिन दबाबमूलक गतिविधि गरिरहेका रंगकर्मी हिरा बिजुली नेपालीले बताए।

'सबै अपहरकारीकाे नेतृत्व गरी गएका केटीका बाबूलाई प्रहरीले समात्न सकेकाे छैन। उनलाई समातेपछि अन्य फरार अपहरकारी कहाँ छन् पत्ता लाग्न सक्छ,' उनले भने, 'तर सत्तामा सहज पहुँच बनाएका उनीहरुलाई समात्न प्रहरीले अग्रसरता देखाएकाे छैन। अब चन्द्रेकाे अवस्था यस्ताे छ भनी अपहरणकारी नै सम्पर्कमा आउने कुरै हुँदैन।'

तर, प्रहरी भने मुगु र हुम्लाका विभिन्न गाउँमा व्यापक रुपमा प्रहरी परिचालन गरिएकाे बताइरहेकाे छ। हुम्लाका डीएसपी शर्माका अनुसार कर्णाली नदीतिर पनि प्रहरी पठाइएको छ भने उनी आफै पनि खाेज कार्यका लागि सक्रिय छन्।

प्रहरीले आवरणमा जतिसुकै सक्रियता देखाएपनि रिजल्ट नदिएकाे याे घटनालाई सत्यतथ्य छानबिनका लागि सुरुदेखि दबाब सृजना गरिरहेकाे वैज्ञानिक समाजवादी पार्टीकाे जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन माेर्चाका महावीर विश्वकर्माले बताए।

'अन्तरजातीय विवाह सामाजिक अन्तरघुलनकाे सबैभन्दा उच्चतम माध्यम हाे,' उनले भने, 'तर सत्ता यसलाई सहज रुपमा स्वीकार गर्न तयार छैन। त्यसैकाे सिकार बनेका हुन चन्द्रे कामी।'

१७ वर्षीया मल्लसँग भागीविवाह गरेका चन्द्रेलाई माइती पक्षले अपहरण गरी २९ मंसिरदेखि बेपत्ता गरेकाे छ। उनलाई केटी पक्षले नै बेपत्ता अपहरण गरी बेपत्ता पारेको परिवारको दाबी छ। १५/२० जनाको समूहले मध्यराति छरछिमेक सबैका घरमा तालाबन्दी गरी चन्द्रे र सुन्तलीलाई लिएर गएको नातामा चन्द्रेका दाइ पर्ने गगन लाेहारले बताए।

तर, केटीका बुबा वीरबहादुरले चन्द्रेलाई घरमै छोडेर सुन्तलीलाई मात्र लिएर गएको प्रहरीसमक्ष बताएका छन्। प्रहरीले माइती पक्षले बेपत्ता पारेकाे थाहा पाएर पनि उनीहरुकै बाेली पत्याउनु सत्ताकाे मनासिकता भएकाे जात व्यवस्था उन्मुलन माेर्चाका विश्वकर्माकाे विश्लेषण छ।

केटाको परिवारले केटी पक्षले चन्द्रेलाई बेपत्ता पारेको आरोप लगाएको छ। तर, केटी पक्षले भने चन्द्रेलाई लुकाइएको बताइरहेको छ। कसकाे तर्क के भन्दा पनि केटीका माइतीले गरेकाे अपराधिक कार्यलाई प्रहरीले हेर्नुपर्ने जात व्यवस्था उम्मुलन माेर्चा सुर्खेतकी संयाेजक अस्मिता बादीले बताइन्।

'हामी क्लियर छाैं, चन्देलाई अपहरण गरिएकाे हाे भन्ने कुरामा। अहिले केटी पक्षकाले केटा पक्षले नै आफै लुकाएकाे भनी उल्टाे बनावटी आराेप लगाइरहेका छन्। याे आराेपलाई प्रहरी कसरी पत्याउन सकेकाे हाे?,' उनले भनिन्, 'हामीले सुरुदेखि नै याे रुकुम घटनाको पुनरावृत्ति हुन सक्छ भनेर सचेत गराएका हाैं। आजसम्म चन्द्रेकाे अवस्थामा अज्ञात हुनु याे रुकुम घटनाकाे नजिक पुगेकाे छ।'

चन्द्रे कामी वेपत्ता पारिएकाे विषयमा विभिन्न अधिकारवादी संघसंगठनहरुले चन्द्रेको अवस्था पत्ता लगाउन र उनकाे अपहरण गर्नेहरुमाथि कारबाही गर्न माग गरेका छन्। जात व्यवस्था उन्मुलन माेर्चाले सुरुदेखि नै सडकमा गतिविधि गरिरेकाे छन्। उसले मंगलबार सुर्खेतमा विरोध प्रदर्शन गर्‍याे भने अनेरास्ववियु (क्रान्तिकारी) आरआर क्याम्पसले काठमाडौंमा पनि विरोध प्रदर्शन गरेकाे छ।

हुम्लाका डीएसपी शर्माले चन्द्रेलाई कर्णाली नदी किनारकै बाटोहुँदै लगेको आशंकामा त्यो क्षेत्रपट्टी जान लागेको बताए। उनले भने, 'हामीले केटीको गाउँ सोरु गाउँपालिका- ४, लिब्रुसहित आसपासका सबै गाउँमा खोज्यौं। केटाको गाउँ, उसको दिदीहरुको गाउँदेखि आफन्त रहेका गाउँहरुमा मेरै कमाण्डमा खाेजेका छाैं। तर, केही क्लु फेला पार्न सकिएकाे छैन। अब कर्णालीतिर प्रहरी परिचालन गर्न लागिएको छ।'

तर, प्रहरीले परिणाम नदिएकाे भनी रंगकर्मी हीरा बिजुलीले आपत्ति जनाइरहेका छन्। 'प्रहरीले खोजबिन गरिरहेको जस्तो देखाएकाे छ। तर, अपहरण गर्नेलाई र अपहरित चन्द्रेलाई समेत भेटाउन सकेको छैन,' उनले भने, 'मध्यराति अर्काको घर पसेर अपहरण गर्ने र बेपत्ता पारिदिनेलाई खुला छाेडेर शंका उपशंकाका कुरा मात्रै गर्नु निकै लाजमर्दो कुरा हाे।'

प्रकाशित मिति: : 2021-12-22 07:06:00

प्रतिकृया दिनुहोस्