अन्तरजातीय विवाह : अझै भेटिएनन् चन्द्रे कामी, आलटाल गर्दै प्रहरी

हुम्लाका १८ वर्षीय चन्द्रे कामी र मुगुकी १७ वर्षीया रमिला मल्ल (सुन्तली) ले ५ मंसिरमा भागेर विवाह गरेकाे आज एक महिना पुरा भएकाे छ।उनीहरुकाे विवाहलाई केटीका माइती पक्षले सजिलै स्वीकार्ने सम्भावना नभएपछि चन्द्रे र सुन्तली घरतिर नगएर छिमेकी गाउँमा गएर बसे।

चन्द्रेकाे गाउँ हुम्लाको जैर हाे। जहाँ दलित समुदायको बसोबास छ। डाँडामा पुग्दा मात्र फोनले काम गर्छ। त्यहाँबाट सुन्तलीको गाउँ सोरु-४, लिब्रु पुग्न चार घण्टा लाग्छ।

तीन वर्ष अघि मुगुकाे एउटा हाेटलमा काम गर्दै गर्दा चन्द्रेकाे भेट सुन्तलीसँग भएकाे थियाे। त्यसपछि उनीहरु प्रेम सम्बन्धमा रहेकाे गाउँलेकाे भनाइ छ। मंसिर ५ मा उनीहरुले आफ्नाे प्रेमलाई विवाहमा बदल्न भाग्ने निर्णय गरे।

चन्द्रेले एक महिना अगाडि आफूसँगै पढ्ने मुगुकी केटी भगाएर ल्याएको र विवाह दर्ता गरिदिन भनेर फाेनमा आग्रह गरेकाे हुम्लाकाे सर्केगाड गाउँपालिका-१ का वडाध्यक्ष गोकुल बुढाले बताए।

'२० वर्षमुनिको विवाह दर्ता हुँदैन भने। त्यसपछि २४ मंसिरमा सुन्तलीलाई लिएर चन्द्रे जैरस्थित आफ्नो घर फर्के भन्ने सुनेकाे हुँ। पुस २९ गते राति माइती पक्षका आएर केटाकेटी दुवैलाई उठाएर लिएछन्,' उनले भने, ‘केटालाई दुवै हात बाँधेर कुटपिट गर्दै लगिएको भन्ने कुरा आएको छ।'

'घरदेखि करिब १५ मिटर पर केटाको टिसर्ट भेटिएको छ। कुट्दै पिट्दै लिएर गएको हाे भने केटालाई मारेर फालेको हुन सक्छ', उनले भने।

परिवारका काइँला छोरा चन्द्रेका बुबाआमासहित तीन दाइ, भाइजूहरु र एक भाइ छन्। चन्द्रेका दाइ नाता लाग्ने गगन लोहारका अनुसार केटीले माइती पक्षलाई जानकारी गराएकी थिइन्, 'मैले बिहे गरेँ, मेरो सोधखोज नगर्नु' भनेर।

माइतीले केटीलाई 'जे हुनु भइगो, एकपटक घर आऊ हामी केही भन्दैनौँ' भने। मंसिर २७ गते राति १ बजेतिर घरमै सुतेका बेला अरु सुत्ने कोठामा बाहिरबाट चुकुल लगाइदिएर केटा र केटीको कोठामा गई हातपात गर्दै लिएर गएका हुन्।

त्यसअघि उनीहरूमध्ये केही चन्द्रेको घरभित्र छिरे भने कसैले छिमेकीको घरबाहिरका ढोका लगाइदिए। चन्द्रेको परिवारका अन्य सदस्य सुतेको कोठाको ढोका पनि बन्द गरिदिए। त्यसपछि चन्द्रे र सुन्तलीलाई घरबाट लिएर गए।

गगनले भने, 'चन्द्रेलाई लैजानुअघि उनीहरूले कुटेका थिए। मैले राति नै प्रहरीलाई खबर गरेँ। यसरी पूरै गाउँमा ताला लगाएर चन्द्रेलाई लगेका थिए।'

वडाअध्यक्ष गाेकुल बुढाका अनुसार राति होहल्ला बढेपछि ढोका तोडेर बाहिर निस्केका छिमेकीले परबाट हेर्दा चन्द्रेका दुवै हात बाँधिएको र उसलाई नांगो पारेको देखेकाे रहेछन्। यतिका दिनसम्म चन्द्रेकाे अत्तोपत्तो नहुँदा परिवारका सदस्य आत्तिएका छन्।

चन्द्रेको खोजीमा अहिले हुम्ला र मुगुबाट प्रहरी टोली परिचालित छ। हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्मासहितको टोली लिब्रुतिर लागेको छ, जहाँ पहिल्यैदेखि जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलीले खोजबिन गरिरहेको छ।

मुगुका प्रहरी प्रमुख डीएसपी सुवास हमालका अनुसार सुन्तली माइतमै भेटिएकी छन्। तर, उनका बुबा वीरबहादुर मल्ल चाहिँ सम्पर्कमा छैनन्। गत शुक्रबार सुन्तलीसँग सोधपुछ गर्दा बुधबार आफूलाई मात्र जबर्जस्ती ल्याइएको बताएको हमालकाे भनाइ छ।

'सुन्तलीले पनि चन्द्रेको अवस्थाबारे केही थाहा नभएकाे बताएकी छिन्। घरमा नभएका उनकाे बुबाकाे खाेजी पनि भइरहेको छ,' डीएसपी हमालले भने, 'चन्द्रेलाई खोज्न हामीले सइसापको नेतृत्वमा टोली खटाएका छौं।'

लिब्रुबाट सुन्तलीका बुबा वीरबहादुरसहित १३ जनाको टोली जैर पुगेको उनले पुष्टि गरे। तर, अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन। उनीहरू सबै फरार रहेको प्रहरीको दाबी छ।

तर, याे घटनालाई सुरुदेखि नै गम्भीर रुपमा लिन सामाजिक संजालमा अभियान चलाएका रंगकर्मी हिरा बिजुली नेपाली अमानवीय र अपराधिक कार्यलाई राज्यले गम्भीर रुपमा नलिएकाे तथा  ठूला मिडिया समेतमा पीडककाे पहुँच हुँदा दबाब नपुगेको बताए।

'अन्तरजातीय विवाह गरेकै कारण अपहरणमा परेको केटा गायब छ। चन्द्रेलाई राति उठाएर लैजानेहरूलाई पक्राउ गर्न प्रहरीले फरारकाे नाममा आलटाल गरिरहकाे छ। मिडियाहरुमा उनीहरुका नातेदार भएकाले लेख्न मानिरहेका छैनन्,' उनले भने, 'प्रहरी टोली पीडकलाई फरारकाे बहाना बनाएर निष्क्रिय बनेकाे छ।'

उनले रुकुम पश्चिमकाे जस्तै घटना दाेहाेरिए त्यसमा प्रहरी जिम्मेवार हुने बताए। नवराज विककै जस्तो प्रहरीले चन्द्रे कामी प्रकरणमा अनुसन्धान विषयान्तर गर्न खोजेको उनकाे आरोप छ।

चन्द्रेका बुबा धनञ्जय लोहारले मध्यरातमा आफ्नो बुहारीलाई जबर्जस्ती र छाेरालाई कुट्दै लगिएको बताए। वडाअध्यक्ष बुढालाई चन्देका बाबुले भने, 'गाउँलेलाई घरमा थुनेर छोरालाई लगे। केटी माइतमै भेटिएको सुन्यौं। तर हाम्रो छोरा कहाँ छ? कुन अवस्थामा छ? अत्तोपत्तो छैन।'

हुम्ला घटनाकाे विषयमा कर्णालीका मुख्य भनिएका राजनीतिक पार्टी माैन छन्। तर विभिन्न संघसंगठन र अधिकारवादी संस्थाहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् भने दोषीलाई उम्किन नदिन खबरदारीसमेत गरेका छन्।

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले चन्द्रे कामीको घटनाले रुकुम घटनाजस्तै अप्रिय अवस्थाको संकेत गरिरहेको भन्दै खेद प्रकट गरेकाे छ भने चन्द्रेको खोजीलाई तीव्र पार्न र आरोपीलाई नियन्त्रणमा लिएर तत्काल अनुसन्धान अघि बढाउन माग पनि गरेको छ।

त्यस्तै माओवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काे हुम्ला जिल्ला कमिटीले घटनाकाे छानबिन गरी दाेषीमाथि कानुनअनुसार कारबाही गर्न पुलिस प्रशासनकाे ध्यानाकर्षण गराएकाे छ।

संगठनका जिल्ला संयाेजक पारस धामीले विज्ञप्ति जारी गर्दै संविधानले नै जातीय छुवाछुतलाई दण्डनीय भनेको अवस्थामा यस्ता घटना बारम्बार दोहोरिनु दु:खद् भएको बताएका छन्।

प्रकाशित मिति: : 2021-12-20 12:10:00

प्रतिकृया दिनुहोस्