खराब प्रवृत्तिलाई नयाँ नाम दिँदैमा त्यो नयाँ हुने होइन। धेरैले भन्दैमा गलत सही बन्दैन, न त थोरैले भन्दैमा सही छोपिन्छ। गलत र सहीको कसी त्यसको आवरणले निर्धारण गर्दैन न त आकर्षक सजावटले गलतको प्रभावलाई कम गर्न सक्छ। जतिसुकै चिप्ला कुरा गरे पनि सेवा वा वस्तुको पारख त्यसका सही उपभोक्ताले गर्छन् नै। खराब नियत भएकाबाट असल काम र व्यवहारको अपेक्षा गर्न सकिन्न।
ओझेलमा परेका विषय वा सेवाको महत्वबोध गराउन, अवरुद्ध गतिलाई ऊर्जा दिन पनि नयाँ कलेवर दिनुपर्छ। त्यसका लागि विषय वा सेवाको अन्तर्भाव बुझ्न सक्ने पारख चाहिन्छ, जसरी रंगकर्मीको कला बुझ्न कलाप्रेमी मन चाहिन्छ। मानवता बाँकी रहेको जमातले नै अर्को मानिसको अन्तर्आत्माको बोली चिन्न सक्छ। जीवन र जगत् बुझेको जमातले जति स्वाभाविक रूपमा जीवन र जगत् चल्ने आधारभूत तत्वको संरक्षण र संवर्धन गर्न योगदान दिन सक्छ त्यति अरूबाट अपेक्षा राख्न सकिन्न।
जीवन र जगत्को चक्र सूत्रमा बनाइने सिनेमा होइन । प्राकृतिक अवस्थामा रहेका वस्तुमा बेग्लै सुन्दरता हुन्छ । त्यसो भन्दैमा परिमार्जन गर्नुपर्दैन भन्ने होइन। प्राकृतिक स्वरूपमा कतिसम्म परिमार्जन स्वाभाविक र स्वीकार्य हुन्छ भन्ने निर्णय सूक्ष्म विश्लेषणमा आधारित हुनुपर्छ र त्यस्ता निर्णयलाई सरोकारवालाहरूले स्वीकार गर्न सक्ने हुनुपर्छ। यस्तो सवालमा कोही व्यक्तिको सनक वा मुढेबललाई जबर्जस्ती लाद्न खोज्नु अनर्थ हुन सक्छ । पूरा गर्न नसक्ने सपना देख्नु र मुढेबल प्रयोग गर्नु मानसिक कमजोरी हो। उसो त सपनाको सिर्जनशीलतामा आविष्कारको बिउ भेटिन सक्छ, तर फर्सीको बिउ रोपेर काँक्रो वा करेला फल्दैन। कसैले गुलियो करेलाको सपना बाँड्छ भने बुझ्नुपर्यो त्यसमा भुल्नु मूर्खता हो।