कोरोना महामारीको पहिलो लहर त्रासदीपूर्ण थियो। चिकित्सकहरू स्वयं बिरामी हेर्न डराउँथे। नयाँ र विश्वव्यापी भाइरस भएकाले उपचार एवं पूर्वसावधानीबारे ज्ञान भइसकेको थिएन। एकाएक बिरामी ह्वात्तै बढे। सरकारले उपचार केन्द्र तोक्दै चिकित्सकहरूलाई सेवा दिन निर्देश गर्यो।
नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालले रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई एउटा अस्थायी कोभिड अस्पताल बनायो। त्यसका निर्देशक डा. विनोद पौडेल सुरुमा आत्तिए। तर, हिम्मतका साथ उपचारमा खटिए। उनले प्राकृतिक विधिबाटै उपचार गर्ने, औषधि प्रयोगै नगर्ने अठोट लिए। आहार, विहार मिलाए। जटिल प्रकृतिका बिरामीसमेत सोचेभन्दा छिटो निको हुँदै गए। त्यसले उनमा थप हौसला बढ्यो। खुसीको कुरा, २०७७ जेठदेखि ८ महिनामा उक्त अस्पतालले ७ सय ८५ जना संक्रमितको उपचार गर्यो। सबैको सफलतापूर्वक। अर्थात् मृत्यु शून्य।
उक्त अस्पतालमा ३ वर्षका बालकदेखि ८७ वर्षका ज्येष्ठ नागरिकसम्मले कोरोनाको उपचार सेवा लिए। मिर्गाैला डायलासिस गरिरहेका, मुटुको शल्यक्रिया भर्खर गरेकादेखि दम, मधुमेहका जटिल एवं दीर्घरोगीसमेत आए। कोही पनि सिकिस्त हुन पाएनन्। अस्पतालले उपचारदेखि खानासम्ममा कसैसँग सुको लिएन। सरदर प्रतिव्यक्ति १० हजार ५ सय रुपैयाँमा उपचार टुंग्यायो।
आउनुहोस्, आजको शनिबार देशकै एउटा यस्तो उपचार केन्द्रको चर्चा गरौं, जुन स्वास्थ्य सफलतामा नमुना बन्दै आएको छ।
०००
देवचुली-१३ का ८७ वर्षीय झविलाल खरेललाई मुटुको मात्रै समस्या थिएन। उच्च रक्तचाप र मधुमेहबाट पनि थलिएका उनको पाको शरीरले लागेकै रोग पनि थाम्नै मुस्किल थियो। त्यसैमाथि कोरोना संक्रमण थपियो। अन्य अस्पतालले उनको उपचार गर्न डराए, तर निको पारेर फर्काउने आँट गरे रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका स्वास्थ्यकर्मीले। नभन्दै प्राकृतिक पद्धतिबाटै उनी संक्रमण मुक्त मात्रै भएनन्, अन्य रोग पनि कम हुँदै गयो। खरेल भन्छन्, ‘बाँच्दिनँ भन्ने लागेको थियो, बाँचेर फर्किएँ। नपत्याउने खोलाले बगाउँछ भन्थे, मान्छेले विश्वास नगर्ने अस्पतालले निको पार्यो।’