कपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका कारण मंसिर १० देखि १४ गतेसम्म चितवन पूरापूर व्यस्त रह्यो।
सुन्तलादेखि सुकुटीको व्यापार मात्र मौलाएन, सौराहाका होटल व्यवसायीलाई पाहुनालाई कोठा पुर्याउन र कतिपय अवस्थामा खाना खुवाउन पनि हम्मेहम्मे पर्यो।
औपचारिक रूपमा १० गतेदेखि शुरू भए पनि भीडभाड ८ गतेदेखि नै शुरू भएको थियो। महाधिवेशन शुरू भएको पहिलो दिन नारायणी नदी किनारमा सुन्तला, बदाम, पानीदेखि खानासम्मको राम्रो व्यापार भयो।
महाधिवेशनमा नारायणी नदी किनार र बजार क्षेत्रमा १०० भन्दा धेरै सुन्तला व्यापारीले रिक्सामा भरिभराउ सुन्तला ल्याएका थिए। साँझसम्म सबै बिक्री भइसकेका देखिन्थे। नारायणगढमा व्यापार गर्दै आएका गोरखाका हिरा पन्तले एकैदिन २०० किलोग्राम सुन्तला बिक्री गरेको बताए।