मोरङमा आमाले कुटी-कुटी छोराको हत्या गरिन्

File Photo
File Photo

मोरङको कटहरीमा आमाको कुटाइबाट आइतबार राति छोराको मृत्यु भएको छ। कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद राउको आफ्नै आमाको कुटपिटबाट मृत्यु भएको हो। मादक पदार्थ सेवन (मापसे) गरेर आएका राजेन्द्रले गत शनिबार राति घरमा झैझगडा गर्न थालेपछि घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

उनका अनुसार झगडा गर्न थालेपछि राजेन्द्रलाई आमा ५५ वर्षीया बातियोले दाराउले कुटपिट गरेको खुलेको छ। कुटाइबाट घाइते भएका उनलाई उपचारका लागि शनिबार राति नै विराटनगरको कोसी अस्पताल भर्ना गरिएको थियो। 

सामान्य उपचारपछि परिवारका सदस्यले राजेन्द्रलाई घरमा लगेका थिए। घटनाका बारेमा ढिलो गरी जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले आइतबार राति पुनः राजेन्द्रलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरेका थिए।

उपचारकै क्रममा उनकाे आइतबार राति १०ः१५ बजे मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। कुटपिट गरेर छोराको हत्या गर्ने आमालाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2021-11-29 16:30:00

प्रतिकृया दिनुहोस्