मंसिर लाग्यो त !

Breaknlinks
Breaknlinks

‘मंसिर लाग्यो त! कहिले हो भोज खुवाउने ?’

मंसिर महिना सुरु भएसँगै बीस वर्षमाथिका युवा–युवतीहरूलाई आफ्ना साथीभाइ तथा आफन्तहरूले तेर्साउने प्रश्न हाे याे।

प्रश्नमा समानता रहे पनि यसको जवाफ भने व्यक्ति पिच्छे फरक–फरक हुन्छ:

– भोज खुवाउन किन मंसिर चाहियो, अहिले नै खुवाउँला नि!
– बिहे भन्ने कुरो लेखान्तर हो, दिन आएपछि खुवाउँला नि!
– मलाई मिल्ने मान्छे खोज्नुस् न त!
– विवाहको पछिल्लो दुई अक्षर वाह भन्ने चिज हरायो अहिले!

अलि फन्टुसले नम्बर–१ काे जवाफ देला। भावुक छ भने २–नम्बरको जवाफ फर्काउला। बिहे गर्न हतार नै भएकोले ३–नम्बरको जवाफ दिएर लमी बनाइदेला। साहित्यिक मान्छे पर्‍याे भने ४–नम्बरको वाणी प्रस्तुत गर्ला। जे–होस्, प्रश्नको झटारो खसिसकेपछि युवा–युवतीले दिने उत्तरहरू यी र यस्तै छन्। हुन्छन्।

प्रश्नको जवाफ सामान्य रुपले दिने हुन् या गहन तरिकाले, जो कोहीको पनि भित्री मनमा मान्छेहरुले सोध्ने यी प्रश्नहरुले हैरान पारिरहेको हुन्छ। अर्कातिर, फेसबुक वालभरि भरिएका बिहेका झिलीमिली फोटाहरुले मनलाई लोभ्याइरहेका हुन्छन्। वाह्य वातावरण यस्तो भएपछि नवयौवनाको आन्तरिक वातावरण हलचल नहुने कुरै भएन। युवामनले प्रेम, बिहे, परिवार, सम्बन्धको वारेमा बढी सोच्ने महिना कुन हो भनेर प्रश्न गर्ने हो भने अधिकांशको उत्तर मंसिर आउनेमा दुई मत नहोला।

कोहीसँग प्रेम सम्बन्धमा रहेकोलाई त समस्या नहोला, अझ आजकलको अफेयर... लभ गर्ने तर बिहे नगर्ने सम्झौतामा रहेकोलाई त काइदा नै होेला तर २२/२५ वर्ष उमेर कटेका र प्रेम सम्बन्धमा नरहेका युवाहरुलाईं यो समय तनावपूर्ण हुन्छ। आफन्तले देखाएको केटारकेटी मन नपर्दा मन परेन भन्न मिलेन, बिहे गर्न मन छैन भन्नुपर्याे। आफूलाई मन पर्नेले आफूलाई फर्केर हेर्दैनन्, आफूलाई मन नपर्नेहरु टाँसिन आइपुग्छन्, अरुका बिहेका फोटो हेर्दा उनैका बुढारबुढी मन पर्छन्। यो अचम्मको उमेरका अनौठा अनुभव धेरैले लिइसके, धेरै लिने क्रममा छन्।

यसपाली, असारको सात दिने झरी, विनाशकारी बाढी र पहिरोमा पनि युवायुवतीहरु विवाह बन्धनमा बाँधिएरै छोडे। दुई दिनसम्म मुग्लीनको जाममा परेका जोडीहरुले संयुक्त फोटो खिचेर रेकर्ड राखे। त्यो भन्दा ठूलो रेकर्ड राखे कृष्णभिरमा सुहागरात मनाएर। खाने मुखलाई जुँगाले छेकेन। जुँगाले होइन, कृष्णभिरको पहिरोले पनि छेकेन भनौँ। 

यो साल सबैभन्दा बढी बिहेको लगन असारमा थियाे। लगतै मंसिरमा छ। यसपालि चैँ बिहेको भेल–बाढीमा बग्न पाउने लालसाले कतिको मनमा लड्डु फुटेको होला। अर्काेतिर आफूभन्दा सानोले बिहे गरेर घोर्ले छोरा पाइसक्दा पनि आफ्नो बिहे नभएकोमा कुँडिएर बस्ने कति होलान्। मंसिरमै बिहे हुने पक्का भैसकेका कतिले त जनगणनामा आउने गणकलाई मेरो बिहेपछि तथ्यांक लिन आउनु भन्दै फर्काए होलान्।

आफ्नो बिहे नहुँदासम्म अधिकांश युवा मनले आफूलाई राम्रा लाग्ने केटारकेटी आफ्नै जीवनसाथी हो कि झैँ ठान्छ। जापानकी राजकुमारी माकोले एउटा गरीब परिवारको आफ्नो प्रेमी किइ कोमुरोसँग विवाह गर्न राजगद्धी नै त्याग गरेको उदाहरण पेश गर्दै एउटा गरीब नेपाली ठिटोले पूर्णिका साहलाई आफ्नै प्रेमिकाको रुपमा सजाउन थाल्छ। अन्जु पन्त र स्वेता खड्का एकल हुँदा मनमा लड्डु फुटाउनेहरु उनीहरुले दोस्रो बिहे गरेपछि निराश भए होलान्। यता रिमा विश्वकर्माले अब बिहेको कुरा गर्ने बेला आएको छ भन्दा कतिका निस्क्रिय तन्तु सक्रिय हुन थाले होलान्। पल साहसँग प्रेम सम्बन्ध होइन भनेर समीक्षा अधिकारीले भन्दा पल साहका प्रशंसक युवतीहरु खुशी होलान्। ऋषि धमला र एलिजाको जोडी देखेर मुख मिठाउँदै आफू राम्रो नभएर के भो त, बिहे त रुपवतीसँगै गर्ने हो भन्दै हिँड्ने धेरै होलान्।

बढ्दो खुलापन, सूचना प्रविधिको विस्तार र पश्चिमी संस्कृतिको प्रभावका कारण आजभोली प्रेम विवाहको चलन बढ्दै गएको छ। सूचना र सञ्चार प्रविधिको विस्तारसँगै सामाजिक सञ्जालबाट प्रेम सम्बन्ध राखेर बिहे गर्नेहरु धेरै छन्। कलिलो उमेरमै बिहे गर्ने र एकाध वर्ष नहुँदै सम्बन्ध विच्छेद गर्नेहरुको आँकडा अहिले पनि ठूलो छ। प्रेमलाई आकर्षण र वासनाको विषय ठान्दा यस्ता समस्याहरु प्रकट भएका हुन्। प्रेम वासना नभै उपासना हो, प्राप्ती नभै त्याग हो। वासनाको उत्कर्ष प्रेमको हत्या हो। प्रेम समर्पण एवं विश्वासको उच्चतम सम्बन्ध हो। प्रेम पवित्रता, ममता र वात्सल्यको शीतल छायाँ हो, संघर्ष, साहस, शौर्य र स्वाभिमानको सम्मान हो।

आफ्नो चर्चित पुस्तक खुशीमा विजय पाण्डे भन्छन्,'प्रेम भनेको अपेक्षारहित रुपले दिने भावना र क्रियाको नाम रहेछ। मैले यति गरेवापत उसले मलाई कति फर्कायो भन्ने हिसावकिताव मनमा आउने वित्तिकै बुझ्नुस् तपाईं प्रेममा होइन, कुनै 'विजनेस डिल'मा हुनुहुन्छ।'

प्रेमलाई यसरी अथ्र्याउनेहरु युगौयुग सम्बन्धलाई जीवित राख्न सक्छन्। प्रेमलाई सस्तो वस्तु ठान्नेहरु 'इगो हर्ट' वा 'मिसविहेव'को वहानामा सम्बन्धलाई सजिलै तिलाञ्जली दिन तयार हुन्छन्। अहिले देखिएको सम्बन्ध विच्छेदको बढोत्तरी त्यसैको परिणाम हो।

जरुरी छैन, प्रेम भनेको 'फस्ट लुक'मै हुनुपर्छ। एकै नजरमा मन परेर गरेको प्रेम विवाहभन्दा आफन्तले वरबधु खोजेर अभिभावक र आफन्तको रोहवरमा वैदिक विधि पूरा गरेर सात फेरो लगाई लगनगाठो कसेर गरेको बिहे शक्तिशाली र टिकाउ हुन्छ, सम्बन्ध साँचो र प्रगाढ हुन्छ। यसो भनेर मैले प्रेम विवाहलाई तुच्छ ठानेको पटक्कै होइन।

अभिभावकले नस्विकार्दा समेत कतिपय फरक भनिएका 'जात'का युवा–युवतीहरुले प्रेम सम्बन्ध मार्फत अन्र्तजातीय विवाह गरेका छन्। सामाजिक विभेदको पर्खाल भत्काएर मान्छेको कुनै जात छ भने, 'मानवता' नामको एकल जात छ भनेर तथ्य प्रस्तुत गर्नेहरू महान् आत्मा हुन्, मानवताका हिमायती हुन्, सम्मानका हकदार हुन, श्रद्धाका पात्र हुन्।

खैर, मंसिर लागेको छ। बिहेको तामझाम सुरु भैसकेको छ। बजारका कपडा र गहना पसल भरिभराउ छन्। आफू चाहिँ यसपालि कसको बिहे होला र भोज खान पाइएला भनेर बसेको छु। अँ साच्ची, तपाईंको बिहे भो ? मंसिर लाग्यो त, कहिले हो भोज खुवाउने ?

प्रकाशित मिति: : 2021-11-20 07:59:00

प्रतिकृया दिनुहोस्