किसानका लागि किनिएका दुहुना जर्सी गाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले लगे

पालिकाका अगुवा कृषकलाई वितरण गर्न भन्दै हुम्लाको सर्केगार्ड गाउँपालिकाले खरिद गरेका तीनवटा दुहुना जर्सी गाई जनप्रतिनिधिले नै कब्जा गरेका छन् । साढे चार लाखमा खरिद गरिएका गाई पालिका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी र वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले लगेका हुन् । 

अगुवा कृषक छनोट गरी उन्नत जातका गाई दिने भन्दै पालिकाले आर्थिक वर्ष ०७७/७८ को बजेटबाट पशुसेवा कार्यालयमार्फत् गत असारमा ती गाई खरिद गरेको थियो । पशुसेवा कार्यालय सर्केगार्डका प्रमुख छत्र शाहीले जुम्लाको दिदीबहिनी समूहसँग गाई किनेर ल्याएका थिए । प्रतिगाईको खरिद मूल्य एक लाख परेको र १५ दिन हिँडाएर जुम्लाबाट हुम्लासम्म पुर्‍याउँदा घाँस र दानामा प्रतिगाई ५० हजार खर्च भएको शाहीले बताए । 

‘खरिद मूल्य, १५ दिन हिँडाउँदा घाँस–दानामा भएको खर्च र ल्याउने व्यक्तिको होटेल खर्च जोड्दा प्रतिगाई डेढ लाख पर्‍यो । जुम्लाबाट सडकबाटो हिँडाएर मुगु हुँदै हुम्ला ल्याइएको हो । खरिदको भर्पाइ ल्याएपछि गाउँपालिकाबाट रकम भुक्तानी भएको हो,’ उनले भने, ‘पशुसेवा कार्यालय जुम्लाबाट स्वास्थ्य परीक्षण गराएर गाई ल्याएको हो । दैनिक सातदेखि नौ लिटर दूध दिने गाई हुन् ।’ 

प्रकाशित मिति: : 2021-11-17 06:57:00

प्रतिकृया दिनुहोस्