लोकखाना भनेको के हो भन्ने विषयमा अधिकांश नेपालीलाई जानकारी छैन । लोकखानाको अवधारणाबारे जनस्तरमा बुझाउन आवश्यक छ । भौगोलिक क्षेत्रका हिसाबमा हाम्रो देश त्यति ठूलो होइन, तर यहाँ एक सय २५ भन्दा बढी जातजाति बसोबास गर्छन् । एक सय २३ भन्दा बढी भाषा बोलिन्छ । हामीले ती विविध जातजातिको लोकवार्ता, लोकसाहित्य, लोकनाच, रिवाज, रहनसहन, चाडपर्व आदिको अध्ययन गरेका त छौँ, अत्यन्तै थोरै मात्रा । यसमा पनि लोकखानाको विषयमा अध्ययन भएको त्यति पाइँदैन।
अहिले विभिन्न जातजातिको पहिचानलाई महत्त्व दिनुपर्छ भनेका छौँ । तर, उनीहरूका चाडपर्व, खाना, भाषा, गरगहना, नाच, नाटक आदिका बारेमा पर्याप्त अनुसन्धान तथा सूचना संकलन गर्न सकेका छैनौँ । त्यसकारण पनि हामीसँग लोकखानाका सम्बन्धमा सूचना अत्यन्तै सीमित छन् ।