भन्छन्– जीवनमा हार मान्नु हुँदैन
संघर्षको अर्का रुप जीवन हो। कसले कतिबेला हार्छ या जित्छ। त्यसकाे मापन गर्ने कुनै एउटा त्यस्ताे यन्त्र छैन जस्तो भुकम्पको पराकम्प नापेको यन्त्र छ।
मान्छेको जीवनमा अनेकाैँ पराकम्पहरु आइरहन्छन्। केही पराकम्पहरुले जीवनलाई सफल बनाइदिन्छ त केही पराकम्पले सफल जीवनलाई पनि भत्काइदिन्छ।
यस्तै पराकम्पहरुसँग जुधिरहेका छन् दाङ घोराहीका भक्तबहादुर केसी। उनी आजभन्दा एक दशकअघि सवारी चालक थिए। बसको स्ट्रिङसँग रमेका थिए। आफ्नै बस थियो। आफै चलक (गुरु) थिए। सबैले गुरु भनेर सम्बोधन गर्थे। एउटा किसानको छोरा। आफू पनि किसान। जो बसको मालिक छ। गुरुको सम्बोधनसँग रमेको छ।
यसैमा रमाईलाे गरी बितिरहेको थियो भक्तबहादुरको जीवन। तर, देशमा भएको द्वन्द्व, द्वन्द्वपछि भएको आन्दोलन, बन्द हड्तालले उनलाई यस्तो ठाउँमा पुर्यायो। जहाँ उनको पहिचान नै मेटिन पुग्यो।
बन्द, हड्ताल भइरहँदा असफल पराकम्पले उनको गुरुको पहिचान, बस मालिकको पहिचान नै मेटाइदियो। बस सञ्चालन गर्दै गर्दा उनलाई घाटा लाग्यो। ऋण लाग्यो। त्यसपछि बस नै बेचेर लागेको ऋण तिर्नु पर्यो भक्तबहादुरले।
यो उनको जीवनको असफल पराकम्प हो। जुन पराकम्पले १४–१५ वर्ष गरेको चालक पेशा छाड्नु पर्यो। जहाँ उनी कहिल्यै फर्किन सकेनन्। ‘बस चलाउँदै गर्दा ऋण लग्यो। अनि बस बेचेर ऋण तिरे,’ उनले भने, ‘पछि त्यस पेशामा फर्किन सकेन। मन पनि लागेन।’
त्यसपछि भक्तबहादुरले सुरु गरे नयाँ व्यवसायको खोजी। खोज्दै जाँदा भेटियो राप्ती अञ्चलमै नयाँ अनि सम्भावना र जोखिम सबै भएको कपडा धुलाई गर्ने व्यवसाय। जुन सहरी क्षेत्रका लागि आवश्यक पनि थियो।
अनि सम्भावना देखे भक्तबहादुरले र चार जना मिलेर घोराहीमा सञ्चालन गरे कपडा धुलाई गर्ने व्यवसाय। तर, भनेको जस्तो कहाँ हुने थियो र फेरि यस व्यवसायमा पनि घाटा बेहोर्नु पर्यो। भनेको जस्तो चलेन। कर्मचारीलाई तलव खुवाउन समेत समस्या भएपछि अन्य तीन जना साथी व्यवसाय बेच्ने योजनामा पुगे।
वि.स.०६७ सालमा ‘मुनलाइट ड्राई क्लिनर्स’ नामबाट कपडा धुलाई गर्ने व्यवसाय गरेका चार जना मध्येमा तीन जना साथीहरुले व्यवसाय सुरु गरेको तीन वर्षपछि छाडे।
तर, भक्तबहादुर हारेनन्। तीन जना साथीको लगानी जसोतसो फिर्ता गरे। आफै काम गरे। साथीहरुले छाडेको एक वर्षसम्म पनि व्यवसाय घाटामा नै चलाए उनले। आफ्नै घर भएकाले साथीहरुले पनि भक्तबहादुरलाई नै व्यवसाय चलाउन सुझाए।
अनि उनले आँट गरेर चलाए व्यवसाय। ‘आफ्नै घर थियो। घर भाडा तिर्नु पर्दैन। कसो नहोला त भनेर आँट गरेर एक्लै चलाउन सुरु गरे।’ ति कठिन दिन सम्झदै भक्तबहादुरले भने।
पाँचौ वर्षबाट भने आम्दानी हुँदै गएको उनले बताए। अहिले भने भक्तबहादुरले राम्रै आम्दानी गर्दै आएका छन्। दुई जनालाई रोजगारी दिएका उनले आफूले पनि काम गर्ने गरेको बताए।
‘जीवनसँग हार खानु हुँदैन। सम्भावना देखिएको ठाउँमा मिहिनत गर्नुपर्छ, सफलता मिल्छ।’ उनको भनाई छ। अहिले कपडा धुलाई व्यवसायबाट वर्षमा ५ लाख बढी बचत गर्न गरेको उनले बताए।
अहिले एउटा मेसिनबाट मात्र कपडा धुने गरेकोमा अर्को मेसिन पनि थप गर्ने योजना रहेको भक्तबहादुरले सुनाए। सुरुमा १५ लाखको लगानीबाट सुरु भएको उक्त व्यवसाय अहिले भने त्यसको दाेब्बर भएको उनको अनुमान छ।
ठूलादेखि साना सबै कपडा धुने, आइरन लगाउने सबै काम आफूहरुले गर्दै आएको उनले बताए। विशेष गरेर कपडा धुलाई गर्ने व्यवसाय असोजदेखि चैतसम्म चल्ने र अन्य समयमा अलि कम चल्ने गरेको उनको अनुभव छ।
पहिले गुरु भनेर चिनिने भक्तबहादुर अहिले भने उनको पहिचान नै फरक भएको छ। चालक पेशमा रमाएको भक्तबहादुर अहिलेको फरक पेशामा पनि त्यसभन्दा बढी रमाइरहेका छन्।