कोभिडसँगै बाँच्न सिक्दै दक्षिण कोरियाः खुल्न थाले रेस्टुरेन्ट, क्याफे र जिम हल

Getty Images
Getty Images

दक्षिण कोरियाले कोभिडको कारण दर्शाउदै रेस्टुरेन्ट, होटल क्याफेलगायत बढी जमघट हुने स्थानमा लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको छ। कोभिडसँगै जनजीवन सामान्य बनाउने नीतिअन्तर्गत सोमबारदेखि लागू हुने गरी ती क्षेत्र खुकुलो बनाइएको हो। 

खोप लगाएको प्रमाणका आधारमा बढी भिडभाड हुने स्थान जिम हल, साउना र बारहरुमा सर्वसाधरणलाई अनुमति दिइने भएको छ। 

सरकारले फेब्रुअरीको अन्त्यसम्ममा सबै प्रतिबन्ध हटाउने योजना गरेको छ। दक्षिण कोरियामा अहिले पनि कोभिड संक्रमण बढ्दो छ। तर, साबधानी र सुरक्षा मापदन्ड कार्यान्वयन भएको कडाइका कारण संक्रमणबाट मृत्यु हुने दर भने अन्य देशहरुको तुलनामा न्यून छ। 

करिव ५ करोड २० लाख जनसंख्या भएको दक्षिण कोरियामा अहिलेसम्म ७० प्रतिशतले पूर्ण खोप लगाएका छन्। त्यस्तै, ७९ प्रतिशतभन्दा बढीले कम्तिमा पहिलो डोज लगाएका छन्। 

दक्षिण कोरियामा जुलाईदेखि कोरोनाको चौथो कहर सुरु भएको थियो। पुनः संक्रमण फैलिएपछि भिडभाडमा रोक लगाउनुका साथै सामाजिक दूरीलगायत रोग नियन्त्रणका उपायलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिएको थियो।

घरबाहिर हुने खेलकुदका कार्यक्रममा ५० प्रतिशतसम्म दर्शकलाई मैदानमा खेल हेर्न अनुमति दिइएको छ।  त्यस्तै, सामाजिक दूरी कायम गर्दै कुनै पनि कन्सर्टमा १०० जनासम्म सहभागी हुन पाउनेछन्। नयाँ मापदण्डअनुसार खोप लागेका व्यक्तिले मात्र नाट्यशाला र चलचित्र हलभित्र पपकर्न र सोडा खान पाउनेछन्। 

संक्रमणका दृष्टिले बढी जोखिमयुक्त बार, नाइट क्लब, जीम हल र साउनामा जानुअघि खोप लगाएको प्रमाण देखाउनु पर्नेछ। खोप नलगाएका व्यक्तिको हकमा पछिल्लो २४ घन्टामा कोभिड परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ।

प्रकाशित मिति: : 2021-10-29 10:16:00

प्रतिकृया दिनुहोस्