हिमाल फेदीमा रहेको पोखरीमा माछाको एक झुण्ड बस्थ्यो। प्रतिकूल मौसमले पोखरीका अरु जलचरसँगै माछाको जीवनचक्रलाई पनि प्रभाव पार्यो।
पहिला पानी परेन, पछि बेतोडले पर्यो। अप्रत्यासित बर्सिएको पानीले पोखरीको संरचना भत्कायो, माछाको बासस्थान बिगार्यो, अनि माछाका अण्डा बगायो।
त्यही कुरमा पुस्तौँपुस्ता बिताएका माछाहरुले आफ्नो भविष्य देखेनन्। त्यसपछि विकल्प नखोजी भएन। तर आफ्नो तलाउबाट कहिल्यै बाहिरको संसार नदेखेका माछाहरुलाई विकल्प के हुन्छ भनी पहिल्याउनु भनेको मृत्युको जोखिम मोल्नु थियो।
समूहकी टाठी माछी ‘टिकुली’ ले सम्भावित भवितव्य सबैलाई जानकारी गराउँछिन् र माछाहरुको जीवनको सम्पूर्ण आधार समुन्द्रको यात्राको लागि उक्साउँछिन्। समुन्द्र सम्पूर्ण माछा जगतको लागि सपनाको घर थियो। महासागरमा उनीहरुले जीवन सुनिश्चित देख्थे। तर समुन्द्रसम्मको यात्रा कति सम्भव कुरा हो र जीवनको जोखिम कति छ त्यो अन्यौलकै विषय थियो ।