डाेटीकाे गाउँमा सैलुन पसल

Breaknlinks
Breaknlinks

डोटी आदर्श गाउँपालिकाको कार्यालयबाट नजिकै देखिन्छ मौवा नगरदहको प्राचीन पोखरी। पोखरीको पछाडि पट्टी किनारमा शिवजीको मन्दिर छ। मन्दिर मुनि पुरानो धारोको अवशेष छ।

उहिले उक्त धारो भन्नु नै पानीको मुहान थियो जुन पानी मन्दिरमा पूजापाठ गर्दा प्रयोगमा ल्याइन्थ्यो। अचेल धेरै वर्ष भैसक्यो पानी सुकेको पनि। उहिले पूर्वजका पालामा पोखरीको गहिराई सोध्दा प्रायले सजिलै सँग भनिदिन्थे रे– बाइस हात निङालो छिर्छ भनेर। पोखरीको बीचमा ढुङ्गा थियो। पौडी खेल्दा थाकेपछि विश्राम गर्ने ठाउँ थियो त्यही ढुङ्गा। अचेल ढुङ्गा पनि भासियो।



तेले लेकको पर्यावरणीय महत्व

अनि गाईलाई 'बूढी' पोलेको खरानीको टीका लगाइन्छ



किवंदन्ती अनुसार पोखरीको पानी गाउँकै एकजना मानिसले सिंचाईको लागि प्रयोग गरेछन्। सिंचाईका लागि पानी प्रयोग गरेकै कारण उनलाई नराम्रो भएको र उनको अपुताली नै भएको कुरा बताउँछन् स्थानीय बूढापाकाहरू। जुन कुनै बेलाको कथा नै बनिसक्यो।

अचेल पोखरीमा आकाशे पानी मात्र जम्मा हुन्छ। सरसफाईमा ध्यान पुग्नु त परै जाओस् फोहर नगरी दिए पनि ठूलो कुरा हुन्थ्यो। पोखरीको किनारबाटै गएको सडकका कारण माथिबाट बग्दै आएको भलले माटो र ससाना ढुङ्गाका टुक्रा थुपारेकै छ पोखरीमा।

यस हिसाबले पोखरी केही वर्षमै माटोले नभरिएला भन्न सकिन्न। सडक छेउ अर्थात् पोखरी किनारमा बनेका केही अस्थायी पसलहरूको फोहर समेत जानी नजानी पोखरीमै पुग्छ। उक्त प्राचीन पोखरीको बिग्रिदो अवस्थाका बारेमा न नजिकमा रहेको गाउँपालिकालाई चिन्ता छ न त कुनै स्थानीयलाई नै।

मौवा नगरदह भनेर चिनाउने उक्त धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको पोखरी अर्थात् दह चिन्ताजनक अवस्थामा देखिनुले प्रश्न उब्जाउँछ–के स्थानीय तह भनेका मठाधिशलाई भत्ता प्रदान गर्न, ठाउँठाउँमा गएर घाटीमा खादा झुण्ड्याएर भाषण गर्न अनि आ–आफ्ना कार्यकर्ताको पालन पोषणका निम्ति बनेका आँखडा मात्रै हुन् त ? हैन भने उपभोक्ता समिति गठन गरेर सबैलाई मिलिजुलि खाउँ भन्नु शिवाय अरु के नै गरेका छन् र तिनले।

गाउँको सैलुन 

पोखरीको अगाडि पट्टी सडक छेउमा लामबद्ध देखिन्छन् टिनका टहराहरू। तिनै टहराहरूको बीचमा एउटा टहराको माथि टल्किन्छ जय नमा शिवशक्ति ड्रेसिङ हेयर सैलुन लेखिएको होडिङ बोर्ड। वर्षदिन अघि कोभिड महामारीका कारण भारतबाट गाउँ फर्केका डिल्लीराज ओझाले सोच बनाए सानोतिनो व्यवसाय सुरु गर्ने।

आदर्श र साइल गाउँपालिकाका अधिकांश पुरुष भारतमा दरवानी गर्छन्। गाउँघरतिर आफ्नै सानो तिनो व्यवसाय चलाएर बस्न सकेका छैनन्। स्थानीय तहले यो विषयमा खासै पहल गरेको देखिदैन। यस्तो अवस्थामा पनि केही अपवादहरू भेटिन्छन् प्रायजसो ठाउँमा। त्यस्ता अपवादहरू मध्येमा पर्छन् आदर्श गाउँपालिका अन्तर्गत पर्ने मौवा गाउँका डिल्लीराज ओझा र उनका भाइ हेमराज ओझा।

जसले गाउँपालिकाको कार्यालय अगाडि हेयर सैलुन सुरु गरे। गाउँपालिकाका प्रतिनिधिलाई यो एक प्रकारको पाठ पनि हो। डोका, डाला भाडाकुँडा बनाउने देखि बाख्रा पालनसम्मका थुप्रै घरेलु व्यवसाय सञ्चालनार्थ पहल गर्न सकिन्छ। केही सहयोग गर्नु त परै जावस् गर्ने मान्छेलाई प्रोत्साहनार्थ बधाई तथा शुभकामनासम्म पनि भन्न सकिराखेका छैनन् हाम्रा जनप्रतिनिधिहरूले।



चाकडीबाज लिएर जात्रामा हिँडेको लाहुरेझैँ हुनेछन् हाम्रा नेताहरू

अझैं झल्को लगाइरहन्छ 'फोक्सुन्डो'



कुर्सीमा पुग्ने बित्तिकै भुँइ छोड्ने र आफ्ना नातागोता, आसेपासे र कार्यकर्ताहरू बाहेक अरुलाई वास्ता नगर्ने प्रवृत्तिले गर्दा नै आज सर्वसाधारण मान्छेहरूलाई देशमा जुनसुकै तन्त्र आउँदा पनि चासो छैन। चासो छ त केवल भारतका कुन शहरमा गएर दरवानी गर्ने भन्ने मात्रै।

गाउँ घरतिर दाह्री, कपाल काटेर पैसा लिने कार्य त्यति सहज छैन। यो पेशालाई त्यति राम्रो मान्दैन थिए। तर, पनि लकडाउनमा भारतबाट घर फर्केका डिल्लीराज केही महिना बेरोजगार बसे पछि केही काम गर्न पाए हुन्थ्यो भन्ने कुरा सोच्न थाले।

भारतमा महिनामा बीस पच्चीस हजार भारतीय रुपैयाँ कमाइरहेका ओझालाई सुरुमा यो पेशा अँगाल्न निकै गाह्रो भयो। उनी सुनाउँछन्– गाउँघरतिर सुरुदेखि नै घरमा भएको बेला कपाल काटी देऊ न ? भनेर प्राय जसो आइरहन्थे। त्यो सेवा निःशुल्क थियो। यतिखेर शुल्क लिएर काट्न खोज्दा अलि गाह्रो भयो। फेरि सुरुका दिनमा यो पेशामा मन बसाउन पनि बहुत गाह्रो भयो।

पोहरको साल लकडाउन खुकुलो भएपछि दिपायलस्थित राठौरको शैलुनमा मान्छे नहुँदा डिल्लीलाई बोलाइयो। एक डेढ महिना त्यहाँ काम गरेपछि उनी व्यवसायिक हिसावले परिफेक्ट भए। अचेल आफ्नो भाइलाई पनि सिकाइ सके– क्यूरेश ओझाले भेटकाक्रममा सुनाएका थिए।

सुरुमा त डिल्लीका भाइ हेमको पनि मन थिएन गाउँघरमा बस्ने। लकडाउनले गर्दा गाउँमा बस्न बाध्य भए उनी पनि। अनि मन नलाग्दा पनि जान थाले दाइलाई सघाउन शैलुनमा। बिस्तारै सिक्दै गए कैंची चलाउन। अनि महसुश गरे यो क्षेत्रको आवश्यकता र महत्व।

उनी सुनाउँछन्– दैनिक सात/आठ जना आएकै हुन्छन्। कपाल काटेको एक सय र दाह्री काटेको ५० रुपैयाँ लिने गरेका छौं। इण्डिया आठ वर्ष बसेँ। खाना खाएर मासिक १५ हजार बचाउँथे। त्यति त अब यहाँ घरको खाना खाएर परिवारसँगै बसेर सजिलैसँग कमाउन सकिहालिन्छ।

उता क्युरेस ओझाको भनाइअनुसार गाउँमा खासै कपाल काट्न जान्ने मान्छे हुन्न थिए। कोही काम चलाउ गर्ने खालको भए नि निकै खुसामद गर्नु पर्थ्याे। नजिकको कपाल काट्ने पसल भनेको दिपायल नै थियो। जहाँ आउन जान नै गाडीमा ५ घन्टा लाग्छ।

कपाल काटेको र गाडी भाडा तिरेको मात्र हिसाब गर्दा पनि हजार रुपैयाँ खर्च भइ हाल्थ्यो। गाउँमै यसरी कपाल काट्ने पसल खुलेपछि स्थानीयलाई निकै सिजलो भएको छ। डिल्लीका भाइ हेमराज अब दुईचार महिनाभित्रै करिव चार घन्टाको दूरीमा रहेको काँडी गाउँतिर शाखा खोल्ने सोचमा पुगेका छन्। आखिर गरे के हुँदैन र ?

प्रकाशित मिति: : 2021-10-25 21:02:00

प्रतिकृया दिनुहोस्