सुदूरपश्चिममा विशाल क्षेत्र ओगटेको महाभारत श्रृङ्खलामा पर्ने एउटा खण्ड हो तेलेको लेक। यो लेकलाई शिखर, तेलेको लेक, शिखरको धुरो, गन्यापको लेक आदि नामले पुकारिन्छ गाउँघरतिर। भूगोलविद्हरूका अनुसार तेलको खानी भएको कारण यसलाई तेलको लेक भनिन थालियो। तेलको लेक नै अपभ्रषित भएर तेलेको लेक हुन गयो। धेरै जसो ठाउँमा पानीमा तेल तैरिरहेको देख्न सकिन्छ।
यो लेकमा कतिपय ठाउँमा कलकल बगिरहने देखि जम्मा भएर रहेको पानीमा पनि पेटेलियम पदार्थको गन्ध आइरहने कुरा बताउँछन् पुराना दिनमा हाट गएका हटेरु र गोठालाहरू।
तेलेको लेकमा भेटिन्छन् कैयौं पाइतालाका छाप। ती छाप भन्नु नै त्यतिखेरका हटेरुका कथा, व्यथा र पुरातात्विक हिसावले उत्खनन् गर्दा भेटिन सक्ने अन्य केही सामग्रीहरू हुन्। उत्खनन् गर्न मिल्ने त्यस्ता स्थानहरू छदैछन् अहिले पनि। ती हुन् त्यतिखेरका धर्मशाला, तालको किनार, पानीको मुहानको छेउछाउको क्षेत्र। हिँडिरहेकै छन् कतिपय पाइतालाहरू अझैं पनि। आफैमा एउटा इतिहास बोकेको रमणीय क्षेत्र हो तेलेको लेक। बढी जसो डोटी जिल्लामा र केही हिस्सा डडेल्धुरा जिल्लामा पर्ने यो लेक समुद्री सतहदेखि २६७१ मिटर उचाईमा रहेको छ।
‘माल पायो चाल पाएन’ भनेझैं हामीले अझैं यसको महत्व बुझ्न सकेका छौनौं। सुदूरपश्चिमको सम्पत्ति भन्नु नै खप्तड राष्ट्रिय निकुञ्ज, तेलेको लेक, सतबाजको लेक नै हुन्। खप्तड क्षेत्र राष्ट्रिय निकुञ्ज भएको कारण संरक्षित क्षेत्रको रुपमा रहेको छ। तथापि यहाँ पनि अवैध ढंगले सिकार गर्ने देखि जडिबुटी लैजाने गरेका उदाहरणहरू सुनिन्छन् बेलाबखत। तेलेको लेक यतिखेर नङ्गा नाचको मैदान भनेझै भएको छ। काठ तस्करदेखि अवैध ढंगले चोरी सिकारी गर्नेको कमी छैन त्यहाँ।
पूवर्जले यिनै पाहाड पुजे, यिनै पहाड उक्ले, यिनैलाई बोके र जिन्दगीका सिढी तय गरे। जिन्दगी बचाउने भनेका यस्तै खाले पहाड हुन्। तिनै पहाडका उचाईमा रहेको घना जङ्गललाई हामीले लेक भन्यौं। शिखर भन्यौं। हाम्रा पूर्वजहरूले दिएका परिभाषा नै नेपाली शब्दकोशमा रहन गए। र, उल्लेख गरियो नेपाली शब्दकोशमा– ‘हिमालनेरका पहाडको माथिल्लो भाग वा अग्लो सेपिलो पर्वत’ भनेर। कही कतै घरको अग्लिदै गएको धुरी, माटो वा अन्य कुनै चिज थुपार्दै जादा बनेको अग्लो ढिस्को आदि देख्दा भनिदिए –‘शिखर जसो भैग्यो लाउ यो त।’ त्यो शिखरको अर्थ थियो –‘पर्वतको सबभन्दा माथिल्लो भाग चुचुरो टाकुरो। घर, मन्दिर आदिको उपल्लो चुच्चो भाग, गजुर।’ पछिल्लो समय यही नै अर्थ समेटियो नेपली शब्दकोशमा। तिनै शिखरमा बसोवास गरे काफली र गन्याप जस्ता देवताहरूले। तिनै शक्तिपिठका नामबाट रहन गयो शिखरको नाम पनि– काफली शिखर गन्याप शिखर आदि। तीनै शिखर हाम्रा पूर्खाका आस्थाका सुन्दर गजुर थिए। जीवन यापनका क्रममा धेरै कुरा दिने खानी थिए। आफ्नो छातीमा पाइताला टेक्न लगाएर संघर्षका घुम्तीमा हिँड्न सिकाउने गज्जबका आधार थिए। ती शिखरले सिकाएको संघर्ष विगतको इतिहास हो। मानव सभ्यताको सुन्दर कला हो। वर्तमानका पौरखी छाल हुन् भने भविष्यको सिकाइका आधार पनि हुन्।
त्यतै भेटिन्छन् अमूल्य जडिबुटीहरू। विगतमा पुर्खाहरूले त्यही जडिबुटीको प्रयोगले निको पारे रोगब्याधी। पछिल्लो समयमा पनि आयुर्वेद र एलोपेथीका चक्की बनेर बजारमा देखापरेका औषधीहरू तिनै जडिबुटिहरूबाट बनेका हुन्। दुःखको कुरो तेले क्षेत्रमा हजारौ थरी बहुमूल्य जडिबुटीहरू पाइन्छन्। हाम्रा ती जडिबुटीहरूको खोजी हुनसकेको छैन्। त्यसप्रति हाम्रा अगुवाहरूले चासो राख्न सकेका छैनन्। पहाडलाई परिभाषित गर्न सजिलो छैन्। पहाड के हुन् भन्दा के हैनन् भन्नु पर्ने हुन्छ।
जीवन जिउने क्रममा बाटो दोबाटो र गौडाहरूमा देखा पर्ने हरेक प्रकारका चुनौती पार नगरी चल्दैन जिन्दगी। यही जिन्दगी जिउने क्रममा हामीलाई अत्यावश्यक पर्ने भनेको वनजङ्गल हो। जो पछिल्लो समयमा विनाश हुँदै गइरहेको छ। संरक्षणको पर्खाइमा बस्दाबस्दै नासिदै गइरहेका छन् हाम्रा कतिपय लेकहरू। यतिखेर सम्झनामा घुमिरहेको छ तेले। पुर्खाले नुनगुड बोकेको पहाड त्यही तेलेको लेक थियो। मैले बाल्यकालमै दृष्टि पुर्याएको त्यही थियो। किशोरावस्थामा दियालो (झरो) लिन र वल्के पर्वका बेला मिछिट्टि (एक प्रकारको जडिबुटी जसका जरा तिउरीका पातसँगै कुटेर श्रावण मसान्तका दिन हात खुट्टामा लगाइन्छ ) ल्याउन जाने गरेको ठाउँ त्यही तेले थियो।
बर्खामासमा छ महिना गोठ बनाएर उतै बस्थे गोठालाहरू। उतै चर्थे गाईभैसीहरू। भरिभराउ हुन्थे घिउका कन्टर पनि। त्यही घिउ टनकपुर लगेर बेच्थे र ल्याउँथे लुगाकपडा नूनगुड आदि। बाटोमा अर्कै समूहले निकै गह्ररुङ्गो ढुङ्गो छेलो राखेर बाटो अवरुद्ध गर्ने र त्यसलाई उचाली साइडमा राखेर हिँड्नु पर्ने शक्ति मापन गर्ने स्थल थियो त्यही तेलेको लेक।
जिल्लाकै अग्लो स्थानमा हरियो पछ्यौरी ओढेजस्तो सुन्दर देखिने तेले मुस्कुराइरहेको छ यतिखेर बुट्टेदार फूलको सौन्दर्य बोकेर। पर्यावरणी महत्व बोकेको आध्यात्मिक, पर्यटकीय र सभ्यताको त्रिवेणी पनि हो तेले लेक। पुर्खाको इतिहास सम्झाउने एउटा दरिलो दस्तावेज पनि हो तेले। सयौं मान्छेलाई समूहमा हिँड्न बस्न र घुलमिल हुन सिकाउने गोरेटो पनि हो तेले। वन्यजन्तुको डरले समूह विभाजन गरेर आधि रात मात्रै आलो पालो सुत्न लगाउने पनि त्यही तेले हो। धैर्यता र सामाजिक उत्तरदायित्व बहन गर्न सिकाउने एउटा सुन्दर पाठशाला हो पनि हो तेले।
वेदमा एलोपेथीभन्दा कैयौ गुना उत्तम ठानिने आयूर्वेदको चर्चा गरिएको छ। आयूर्वेदको प्रयोग गर्ने गरेका आध्यात्मिक गोरेटोका यात्री बनेका हाम्रा ऋषिमुनिहरूले स्वस्थ रही लोभ लाग्दो जीवन बिताए। प्रकृतिका पूजारी बने। जडिबुटीको महत्व के रहेछ भन्ने कुरा पछिल्लो समयमा सर्वसाधारणले पनि सहजै मनन् गर्न पाए जब विश्वमा कोरोनाको लहर आइपुग्यो। टिमुर, तेजपत्ता, गुर्जो, बेसारलगायतका नाम कण्ठ पार्न थाले। खोजी गर्न थाले। विगतमा गाउँघरतिर वैद्यहरू हुन्थे। तिनले च्यावनप्रास, सेतो प्लादी, लवङ्गांदी, हिङाष्टक चूणर्, लवणभाष्कर चूर्ण, गन्धक रसान, प्राणेश्वर नवरस, पित्तघनादी चूर्ण जस्ता औषधी बनाउँथे।
जुन तयार पार्न प्रयोगमा ल्याइने जडिबुटी खोज्न पुग्थे तेलेको लेकसम्म। हिजो आज तेलेको लेकमा पाइने सतुवा, पाँचऔँले, वनलसुनलगायतका कैयौँ जडिबुटी लोप हुँदै गइरहेका छन्। भेटाउन सकिनेलाईसमेत प्रयोगमा ल्याउन सकिएको छैन। हाम्रा स्थानीय तहका प्रमुखहरूले यी कुराहरूलाई मध्यनजर गरी योजना तय गर्ने हो भने युवाहरूलाई तालिम दिएर स्वरोजगारको मार्ग प्रसस्त गर्न सकिन्छ। जसले व्यक्ति र समाजको मात्रै नभएर राष्ट्रकै अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ। आजका दिनसम्म सुदरपश्चिमका पहाडी जिल्लाहरूमा दुई वर्षको अवधिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या सहरको दाजोमा निकै नै न्यून देखिएको छ। जुन स्वच्छ पर्यावरणकै कारण हो। स्वच्छ हावापानीकै कारण यहाँका मान्छेमा रोग प्रतिरोधात्मक शक्ति बढेको हो भन्दा अत्युक्ति नहोला।
तेलेको लेकमा प्रसस्त मात्रामा पाइन्छ निगालो। जुन वर्षदिनमा सुक्छ र नयाँ टुसा पलाउन थाल्छन्। विगतमा गाउँघरतिर,वर्षको एक पटक निगालो लिन जान्थे लेकतिर र प्रसस्त मात्रामा डोकाडाला नाङ्गा जस्ता घरायसी सामग्री उत्पादन गर्ने गर्दथे। जुन रोजगारीको माध्यम बनेको थियो। पछिल्लो समयमा त्यो कार्य गर्न छोड्दै गए मान्छेले। समयको माग अनुसार मुडा, कुर्सी, सोफा जस्ता चिजबस्तुहरू बनाउन सिकाउने हो भने भारतका गल्लीहरूमा चौकिदारी गर्न जानु पर्दैन थियो होला। तर, यस्ता कुरामा कसैको पनि चासो देखिएको छैन।
अबको मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने भनेकै पर्यटन हो। आन्तरिक र वाह्य दुबै थरी पर्यटकलाई तान्न सक्ने हो भने व्यक्ति समाज र राष्ट्रको आर्थिक स्थितिमा छलाङ मार्न सकिने कुरामा दुईमत छैन्। प्रचारप्रसार र उचित व्यवस्थापन गर्न सक्यो भने तेलेको लेक पर्यटकीय दृष्टिकोणले निकै नै सम्भावना बोकेको क्षेत्र अन्तर्गत पर्दछ। मनोरम फाँट, पछिल्लो समय पुरिन गएका तालहरू, (जसमाथि हिँड्दा जमिन हल्लिन्छ) ऋतुअनुसार फुलिरहने सुन्दर फूलहरू, घना जङ्गल, बन्यजन्तु, चराचुरुङ्गीहरू, राणकालमा निर्मित हटेरुका लागि बनाइएका ऐतिहासिक धर्मशालाहरुको दृश्यावलोकन गर्न हजारौं मान्छे ओइरिने प्रवल सम्भावना बोकेको ठाउँ हो तेलेको लेक। बाटुली ताल, देउ ताल, गन्याप ताल, मुसे ताल, लामिताल जस्ता पुराना ताल भएका क्षेत्र पर्यटकीय गन्तव्य हुन्।
त्यस्तै धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना बोकेको क्षेत्र हो यो लेक। तिर्खाएकी सीताका लागि रामले बाण हानेर निकालेको भनिएको रामशिलाको पानी र कलात्मक ढुङ्गेधारो लगायत महाभारतकालमा पाण्डवहरू यही बाटो हुँदै गएका कैयौं मिथहरू सुनिन्छन्। जुन कुरा प्रचारप्रसारमा ल्याउन सके कैयौं मान्छे आकर्षित हुन्थे नै। काफली, गन्याप, घण्टेश्र,बडीकेदार, गोमती धाम जस्ता शक्तिपीठहरूमा दर्शन गर्न नेपाल र भारतका हजारौं दर्शानार्थीहरूको घुइचो लाग्न सक्छ। यसरी पर्यटन फस्टाउन सकेको खण्डमा आय आर्जनका गोरेटाहरू पनि तय हुन जान्थे। जसले आर्थिक स्मृद्धिमा टेवा पुर्याउँन सक्थ्यो।
यो क्षेत्र पुरातात्विक हिसावले पनि त्यत्तिकै महत्वपूर्ण छ। राणाकालमा आवत जावत गर्न बनेका थिए कतिपय बाटाहरू। त्यतिखेर बाटोमा पर्ने मन्दिरमा चढाइएका पुराना सिक्काहरू, बास बस्ने गरेको ठाउँमा भेटिने चारकोलहरू, भाँडाकुँडाहरू आदिले इतिहासको कालखण्ड थाहा पाउन सकिन्छ। पुरिएका तालहरूलाई थोरै मात्र गहिराइमा खन्ने हो भने पनि पानीको सतह देख्न सकिने अनुमान लगाउँछन् कतिपय बूढापाकाहरू। त्यहाँ पनि विगतका केही सामग्री भेटिन सक्ने प्रवल सम्भावना छ। राणाकालमै बनेका धर्मशालाको छुट्टै महत्व छ। जसले त्यतिखेरको कलालाई उजागर गरेको छ। यिनै कुराले लोभ्याउछ पर्यटकलाई।
विगतमा तेलेको लेकमा कतिपय ठाउँमा फलाम खानी फेला पारिएको र खानीबाट फलाम निकाली भाँडाकुँडा बनाउने गरेका कथा पनि नसुनिएका हैनन्। यस्ता बिभिन्न धातु भएका खानी भेटिन सक्छन् अध्ययन, अनुसन्धान र उत्खनन् गर्ने हो भने। जुन राष्ट्रकै आर्थिक उन्नयनका स्रोतहरू हुन्।
विश्वको साझा विरासत हो प्रकृति। जैविक सम्पदा हावा पानी र माटो हाम्रा प्रकृतिक पूँजी हुन्। पर्यावरणीय विनाशका कारण प्राकृतिक पूँजीमा हुन जाने क्षतिलाई मापन गर्न सम्भव छैन। यही कुरालाई मनन् गरी फिनलैण्ड सरकारले सन २०३५ सम्म कार्वन न्यूट्रल गर्ने र चक्रिय अर्थव्यवस्थामा परिवर्तन ल्याउने लक्ष्य राखेको छ। उसले पर्यावरण संरक्षणका निम्ति सम्बन्धित तह र तप्कामा मजवुत तालमेल गरेको छ भने विभिन्न योजनाहरू पनि लागु गरिसकेको छ।
जैविक विविधताको खानी हो तेले क्षेत्र पनि। पछिल्लो समयमा नेपालले पनि जैविक विविधताको संरक्षणका लागि राष्ट्रिय रणनीति कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। राष्ट्रिय वन स्रोत सर्वेक्षण तथ्याङ्क अध्यावधिक गर्ने कार्य सुरु गरिसकेको छ। तथापि यस क्षेत्रलाई संरक्षण गर्न आरक्षण बनाइनु आवश्यक देखिन्छ। बढ्दो जनसंख्या र पछिल्लो समयमा डोजर लगाएर सडक निर्माणका नाममा पर्यावरणमा असर पुर्याउने खालका गतिविधिको होडबाजि नै चलिरहेको देखिन्छ।
धामी झाक्रीलाई देवता सोध्ने अर्थात् आमन्त्रण गर्ने क्रममा भन्ने गरिन्छ–‘नीर चूर जाँ छै आऽ परमेश्वर। नीर चूरको धनी साच्चिलो भएर आएई।’ ती नीरका धनी भनेका नदी किनारमा अवस्थित भागेश्वर हुन् भने चूरका धनी घनघोर लेकमा, शिखरमा अझ भनौं त्यही तेलेको चुचुरामा अवस्थित काफली, गन्याप हुन्। त्यो तेलेको लेक, त्यो पर्यावरणको महत्व देवताहरूले मन पराएर बसेको भन्ने किंवदन्तीबाटै झल्किसकेको छ।
पूर्वजका पालादेखि नै गाउँघरमा सुनिदै आएको एउटा भनाइछ– पहाड खानु पूजी, माल खानु जुझी। अर्थात् पहाडमा देवी देवताका मठ मन्दिर, प्रकृति सबैलाई पुज्नु पर्छ। हाम्रा आस्थाका प्रतीकहरू नै हाम्रा जीवनरुपी मार्ग देखाउने सूचक हुन्। प्रकृति आफैमा हाम्रो आशा र भरोशाकी केन्द्र हुन्। यिनीप्रति आस्थावान भएर नै जीवनको लय भेटिन्छ। माल भनेको तराई हो। तराईमा जुझारु भएर साहसिलो, हिम्मतिलो भएर जालझेल गरेर मात्र जिन्दगी चल्दछ। यसै भनाइबाट पनि बुझ्न सकिन्छ पहाडको महत्व, पहाडको सौन्दर्य अनि पहाडको सुवास। पहाड, हिमाल, वनजङ्गल ताल तलाउ यी सबै आधार हुन् मानव सृष्टिका। विम्ब हुन जीवनका। पहाडका तिनै शिखरमा, तिनै घनघोर लेकमा अवस्थित छन् हाम्रा अधिकांश आस्थाका धरोहरहरू। आखिर यिनीसँग साक्षात्कार नगरी यिनको संरक्षण नगरी कहाँ चल्छ र जिन्दगी। त्यसैले तेले लेकको पर्यावरणीय महत्व बुझ्नु बुझाउनु र यसको संरक्षण र प्रवर्धनमा लागि पर्नु आजको अपरिहार्य आवश्यकता हो।