चीनसँग सम्बन्ध सुधारको प्रयासमा सरकार

नयाँ पत्रिका दैनिक

पर्शुराम काफ्ले

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार र चीन सरकारबीच ‘चिसिएको सम्बन्ध’ सुधारका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ । एक महिनाको तयारीपछि मंगलबार नेपाल र चीनका परराष्ट्रमन्त्रीहरूबीच एक घन्टा टेलिफोन वार्ता भएको छ । चीनले थप २० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । 

‘सरकारले हुम्लास्थित नेपाल–चीन सीमामा समस्या रहेको निक्र्योलसहित गृह मन्त्रालयमार्फत एकतर्फी छानबिन थालेपछि चीन असन्तुष्ट थियो । तर, चीनकै प्रयासमा सम्बन्ध सुधारको प्रयास भएको छ,’ उच्च सरकारी स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएपछि चीन सरकारले उनीमार्फत सरकारसँग संवादको राजनीतिक च्यानल खुला गरेको थियो । करिब तीन साता लामो गृहकार्यपछि एक घन्टा टेलिफोन कुराकानी भयो र नेपालले चीनसँग राख्नुपर्ने मूलभूत विषय स्पष्ट रूपमा राखेको छ ।’ परराष्ट्रमन्त्री खड्काले वर्तमान सरकार र कांग्रेस दुवै एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका थए । नेपाली भूमिमा चीनविरुद्ध गतिविधि गर्न नदिइने धारणा पनि उनले राखेका थिए । 

परराष्ट्रमन्त्री खड्काले गत ७ असोजमा शपथग्रहण गरेलगत्तै नेपाल र चीन सरकारको कूटनीतिक च्यानलमा दुई परराष्ट्रमन्त्रीहरूबीच भिडियो बैठक आयोजनाका विषयमा छलफल सुरु भएको थियो । परराष्ट्रले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा चिनियाँ नेतृत्वसँग परराष्ट्रमन्त्री खड्काको भेटका लागि आग्रह गरेको थियो । तर, चिनियाँ परराष्ट्रमन्त्री वाङ महासभामा सहभागी नहुने सूचनासँगै चिनियाँ दूतावासमार्फत् दुई देशका परराष्ट्रमन्त्रीहरूबीच भिडियो बैठक आयोजनाको तयारी थालिएको थियो । परराष्ट्रमन्त्री नहुँदा पनि कांग्रेस नेता खड्कासँग नेपालस्थित सबैजसो मुख्य मुलुकका राजदूतहरूसँग निरन्तर छलफल र संवाद हुँदै आएको थियो । 

प्रकाशित मिति: : 2021-10-20 07:37:00

प्रतिकृया दिनुहोस्