मौसम बिग्रदा फोक्सुण्डो जाने पर्यटकलाई सास्ती

File Photo
File Photo

दसैं र तिहारको बीचमा डोल्पाकोे फोक्सुण्डो घुम्न जाने पर्यटकलाई सास्ती भएको छ। स्थलमार्ग, हवाइ मार्गमार्फत डोल्पामा घुम्न जाने पर्यटकलाई मौसममा आएको खराबीले समस्या ल्याएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए।

दुई दिनदेखि हवाइ रुटमा मौसम खराब भएकाले बीच बाटोबाट फर्कनु परेको समिट एयरका स्टेशन म्यानेजर पूर्णजंग शाहीले बताए। दिनमा चार भन्दा बढी उडान पर्यटक लाई लिएर नेपालगन्जबाट डोल्पा जाने गरेको उनले बताए। अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटलहरू भरीभराउ भएका छन्। स्थलमार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइ शे–फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू हुन्।

दैनिक ४० भन्दा बढी पर्यटकहरूलाई होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए। यो सिजन डोल्पा घुम्ने सबै भन्दा उत्कृष्ट बेला हो। कोभिडका कारण अघिल्लो वर्ष रोकिएको फोक्सुण्डो लगायतका ठाउँको यात्रा यो वर्ष फस्टाएको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज, सुलिगाडले दिएको जानकारी अनुसार दिनमा एक सयभन्दा बढी पर्यटक फोक्सुण्डो तालतर्फ गइरहेका छन्। यस क्षेत्रमा मंसिरदेखि हिमपात सुरु हुन्छ। 

प्रकाशित मिति: : 2021-10-19 15:07:00

प्रतिकृया दिनुहोस्