शताब्दीऔंसम्म स्वायत्त एवं स्वतन्त्र रहेको काली-महाकाली क्षेत्रमा सन् १८१६ पछि भौगोलिक र राजनीतिक परिदृश्य परिवर्तन भयो। आज दुई राष्ट्रका दुई कुना उभिए पनि दुवैतिर उही मानिस बसोबास गरिरहेका छन्। काठमाडौं र दिल्लीले विरलै यो वास्तविकताको आभास गर्छ।
भूगोल परिवर्तन हुन लाखौं वर्ष लाग्छ, तर भौगोलिक सर्वोच्चता भने केही दशक या शताब्दीभित्रै परिवर्तन हुन्छ। मानिसबीचका सम्बन्ध अविचलित रहन्छन्। शायद प्रतिकूल समयमा ती शीतनिद्रामा जान्छन् र अरू समयमा सक्रिय हुन थाल्छन्। विशाल तर नाजुक हिमालय जस्तै काली र महाकाली क्षेत्रका हिमालहरू पछिल्ला लाखौं वर्षदेखि ठडिँदै, चुलिँदै, क्षयीकृत हुँदै मुर्झाउँदै र बहँदै आएका छन्।
अपी हिमाल, नाम्फा, साइपाल, तिंकर, ओम पर्वत, तिंकर भञ्ज्याङलाई जोड्ने पर्वतश्रेणी, लिपुलेक, लिम्पियाधुरा, जोलिङ्गकङ (सानो कैलाश) तथा सिन्ला भञ्ज्याङ, राजरम्भा हिमाल, रालम भञ्ज्याङ, पञ्चचुली शिखरहरू र छिप्लाकोट युगौंदेखि यस क्षेत्रमा अवस्थित छन्। तर, हिमालयमा मानव जातिको हजारौं वर्ष लामो इतिहासमा ती पर्वतको नामकरण, पूजाआजा र हिमालय क्षेत्र आरपार चाहिं भर्खरै मात्रै हो।
हिमशिखर तलका हिमतालबाट उद्गम हुँदै शान्त प्रवाहित हिमनदीहरूबाट कालीमा आएर मिसिन्छन्। कालीको ठूलो जलग्रहण क्षेत्र कुमाउमा अवस्थित भए पनि नेपालबाटै धेरै नदी यसमा मिसिन्छन्। बरमदेव मण्डी (टनकपुर) पार गरेपछि यसको नाम शारदा हुन पुग्छ र ब्राहमघाटमा कर्णालीसँगको समागम पश्चात् यो संयुक्त नदी घाघ्रा (अयोध्या क्षेत्रमा सरयू) बन्छ र अन्ततोगत्वा बिहारको रेभेलगन्ज पुगेपछि गङ्गा नदीमा विलयन हुन्छ।